मार्च सन् १९८५। क्यालेण्डरमा बसन्त आइसकेको भए पनि मस्कोका सडकहरू जाडोले कठ्याङ्ग्रिएका थिए र यत्रतत्र हिउँका थुप्राहरू देखिन्थे। हरेक दिन अघिल्लो दिनभन्दा केही फरक थिएन, मस्कोवासीहरूको जीवन एकनासको र पट्यारलाग्दो थियो। त्यस्तै एक सामान्य दिनको अपराह्नतिर शहरमा जताततै बिजुलीका खम्बाहरूमा हँसिया-हथौडा अंकित सोभियत संघको राष्ट्रिय झण्डा टाँगियो। झण्डाले भन्दा त्यसको माथिल्लो भागमा बेरिएको कालो रिबनले सबैको ध्यान आकर्षित गर्यो किनभने कालो रिबन राष्ट्रिय शोकको प्रतीक थियो।
सोभियत संघमा सूचना तथा संचार कडा सरकारी नियन्त्रणमा हुन्थ्यो। देशको माथिल्लो पंक्तिका नेताहरूको स्वास्थ्य सम्बन्धी सूचना अति गोप्य राखिन्थ्यो। टेलिभिजनमा प्रसारित भएका महत्वपूर्ण पार्टी बैठकमा कुनै नेता अनुपस्थित रहेको देखिए ऊ बिरामी छ या उसलाई पार्टीले कारबाही गरिसकेको छ तर घोषणा गर्न बाँकी छ भनेर अन्दाज लगाउनुपर्दथ्यो। त्यस दिन पनि कालो रिबनले केही अशुभ समाचार आउँदैछ भन्ने संकेत गरेको थियो। तर औपचारिक घोषणा सुन्न साँझ ९ बजे सोभियत टेलिभिजनको केन्द्रीय प्रसारणबाट आउने समाचारको प्रतीक्षा गर्नुपर्दथ्यो।
त्यसबेलासम्म रेडियो र टेलिभिजनमा शास्त्रीय धुन मात्र बज्दथ्यो र के भएछ भनेर अझ बढी उत्सुकता जगाउँदथ्यो। अन्त्यमा, साँझ ९ बजे प्राय: सबैले अड्कल काटिसकेको समाचार आयो- ‘सोभियत कम्युनिस्ट पार्टीका महासचिव तथा सोभियत संघको सर्वोच्च सोभियतको अध्यक्षमण्डलका अध्यक्ष (राष्ट्राध्यक्षको पद) कामरेड कन्स्तान्तिन चेर्नेन्कोको ७३ वर्षको उमेरमा मृत्यु भयो।’
यतिको रहस्यमा डुबेर उत्सुकताका साथ प्रतीक्षा गरेको समाचार भए पनि यो समाचारबाट दुःखी हुने या अनौठो मान्ने कमै देखिए, जसका मुख्य दुई कारण थिए। पहिलो, चेर्नेन्को लामो समयदेखि अस्वस्थ भएको शंका गरिएको थियो र उनका दुई पूर्ववर्ती नेताहरू लियोनिद ब्रेझनेभ र युरी आन्द्रोपोभको एक-एक वर्षको अन्तरमा त्यस्तै अवस्थामा मृत्यु भएको थियो। सोभियत जनता त्यस प्रकारको नियमित आकस्मिकतामा अभ्यस्त भइसकेका थिए।
दोस्रो कारण- सोही समाचारमा उल्लेख भएका ५४ वर्षीय मिखाइल गोर्बाचोभ थिए जो पूर्ववर्ती नेताहरू भन्दा धेरै कान्छा, हँसिला-रसिला र कानुन तथा कृषि विज्ञानमा दुई अलग डिग्री हासिल गरेका प्रभावशाली व्यक्तित्व थिए। दीर्घ रोगी, उमेर घर्केका र सभाहरूमा मुश्किलले उभिन र बोल्न सक्ने नेता देखेर दिक्क भइसकेका सोभियत जनता नेतृत्वमा आएको यस्तो परिवर्तनबाट निकै उत्साहित भए। गोर्बाचोभमा उनीहरूले वर्षौंदेखि प्रतीक्षा गरेको परिवर्तनको संवाहक बन्न सक्ने योग्यता पाए।
नयाँ नेतृत्व र उसको नीति तथा कार्यक्रमलाई औपचारिक रूपमा अनुमोदन गराउन एक महिनामा नै गोर्बाचोभले एक महत्वपूर्ण पार्टी बैठकको आयोजना गरे जुन इतिहासमा ‘अप्रिल प्लेनम-१९८५’ को नामले परिचित छ। त्यस प्लेनममा गोर्बाचोभले देशको सामाजिक-आर्थिक विकास वर्षौंदेखि गतिहीन रहेको र त्यसमा नयाँ ऊर्जा थप्न अन्तरविभागीय झमेला हटाउनुपर्ने, पार्टी तथा सरकारी कामकाजमा पारदर्शिता र खुल्लापन (ग्लासनोस्त) ल्याउनुपर्ने र समाजवादको विकासमा नवीनता ल्याउन लोकतन्त्र अपरिहार्य हुने विचार अघि सारे।
उनको आर्थिक सुधार कार्यक्रमको नारा पेरेस्त्रोइका (पुनर्निर्माण) अन्तर्गत उनले देशको व्यावसायिक गतिविधिमा कम्युनिस्ट पार्टीको नियन्त्रण घटाउनुपर्ने र साना उद्यमी तथा निजी श्रमको भूमिका विस्तार गरिनुपर्ने विचार ल्याए।
यसै नारा अन्तर्गत गोर्बाचोभले सन् १९२२ मा लेनिनद्वारा प्रतिपादन भएको र स्टालिन सत्तासीन भएपछि खारेज गरिएको ‘नयाँ आर्थिक नीति’ सँग मिल्दोजुल्दो कार्यक्रम पुन: लागू गर्ने अठोट गरे। लेनिनको आर्थिक नीतिले निजी स्वामित्वमा स्टालिनले जस्तो पूर्ण प्रतिबन्ध लगाएको थिएन र त्यसमा सीमित क्षेत्रमा बजार व्यवस्था र प्रतिस्पर्धाको भूमिका थियो।
गोर्बाचोभ नेतृत्वमा आएपछि सोभियत संघमा युगान्तकारी परिवर्तनको अभियान सुरु भयो। राजनीतिक क्षेत्रमा स्थानीय निकायदेखि संघीय तहसम्म उनले पुरानो सोभियत शैलीको एकल उम्मेदवार प्रणालीको अन्त्य गरे। गोर्बाचोभ नेतृत्वमा आउनुपूर्व सोभियत संघका सबै तहका निर्वाचनमा कम्युनिस्ट पार्टीले उठाएको एकजना मात्र उम्मेदवार हुन्थ्यो र मतदातालाई ‘हुन्छ’ या ‘हुन्न’ भन्ने मात्र अधिकार थियो।
कतिपय अवस्थामा मतदाताहरूलाई आफ्नो निर्वाचन क्षेत्रबाट को उम्मेदवार छ भन्ने पनि थाहा हुँदैनथ्यो। निर्वाचनमा प्रतिद्वन्दी नै नभएपछि चुनाव प्रचार, मतदातासँग भेट जस्ता कार्यक्रम नै हुने भएन र गरे पनि त्यसको उपादेयता नै रहेन।
अधिकांश उम्मेदवार आफ्नो पक्षमा ९० प्रतिशत भन्दा बढी मत ल्याएर विजयी हुन्थे। प्रमुख नेताहरूको पक्षमा ९९.९९ प्रतिशत मत आएको घोषणा गरिन्थ्यो। गोर्बाचोभले सोभियत समाजमा लोकतन्त्रीकरणलाई एक अभियानको रूपमा संचालन गरे र हरेक पदमा दुई या दुई भन्दा बढी उम्मेदवार हुनै पर्ने व्यवस्था गरे।
सोभियत इतिहासमै पहिलो पटक सन् १९८९ मा सोभियत जनप्रतिनिधि कंग्रेसको खुला र स्वतन्त्र निर्वाचन भयो। त्यस बेलासम्म सोभियत संघमा प्रतिपक्षी दलहरू गठन भइसकेका थिएनन्। गैरकम्युनिस्ट उम्मेदवारहरू स्वतन्त्रको हैसियतमा चुनाव लडे र जम्मा २२०० प्रतिनिधि संख्या भएको कंग्रेसमा ३०० जनाभन्दा बढी सुधारवादीहरू निर्वाचित भए।
ग्लासनोस्त नीतिको प्रत्यक्ष सकारात्मक प्रभाव साहित्य, संस्कृति, सूचना तथा प्रकाशन क्षेत्रमा पर्यो। सेन्सरसिप खुकुलो गर्ने गोर्बाचोभको निर्णयको परिणाम स्वरूप विश्वविख्यात रूसी साहित्यकारहरूका स्टालिनकालदेखि प्रतिबन्धित रहेका रचनाहरू प्रकाशित हुन थाले जसमध्ये नोबेल पुरस्कार विजेता बोरिस पास्तार्नाक र अलेक्सान्द्र सोल्झिनित्सिन पनि थिए ।
बोरिस पास्तार्नाक सन् १९६० मा नै दिवंगत भइसकेकाले सन् १९८८ मा बल्ल आफ्नो जन्मभूमिमा प्रकाशित भएको प्रख्यात रचना ‘डाक्टर जिवागो’ देख्न पाएनन्।
त्यसरी नै पहिला सेन्सरले राजनीतिक विचारको आधारमा रोकेका सयकडौं कलात्मक फिल्महरूको निर्माण र प्रदर्शन हुन थाल्यो जसमध्ये प्रख्यात सोभियत उपन्यासकार मिखाइल बुल्गाकोभद्वारा लिखित उपन्यास ‘कुकुरको मुटु’ मा आधारित फिल्म पनि थियो। देशमा प्रकाशन खुला भएपछि पहिला निर्वासनमा रहेका सिर्जनशील क्षेत्रका सर्जकहरू स्वदेश फर्कन थाले।
विज्ञानको क्षेत्रमा सोभियत संघको पहिलो हाइड्रोजन बमका निर्माता प्रख्यात भौतिकशास्त्री र नोबेल पुरस्कार विजेता आन्द्रेइ साखारोभ पनि आठ वर्षसम्मको घरभित्रैको नजरबन्दीबाट गोर्बाचोभको आदेशमा मुक्त भए। यसरी दमनमा परेका, निर्वासित भएका या देशभित्रै बन्दी जीवन बिताएका हजारौं साहित्यकार, वैज्ञानिक र कला क्षेत्रका साधकहरूले ग्लासनोस्त नीति लागू भएपछि स्वतन्त्रताको सास फेर्न पाएका थिए र उनीहरू सबै गोर्बाचोभप्रति कृतज्ञ थिए।
गोर्बाचोभले देशभित्र चलाएको लोकतन्त्रीकरणको अभियानले सोभियत संघकै जस्तो राजनीतिक व्यवस्था भएका पूर्वी युरोपेली देशहरूमा व्यापक प्रभाव पर्यो। उनीहरूले पनि लोकतान्त्रिक आन्दोलन चलाए र अन्त्यमा पूर्व र पश्चिम बीचको वैचारिक र राजनैतिक विभाजनको अन्त्य भयो। यसै विभाजनमा टेकेर बनेको बर्लिनको पर्खाल पनि ढल्यो। दोस्रो विश्वयुद्धपछि पहिलो पटक युरोपका जनताले एकत्रित भएर शान्ति र स्वतन्त्रताको सास फेर्न पाए।
गोर्बाचोभले आफ्नो देश र युरोपका लाखौं जनतालाई अधिनायकवादी शासन, बन्देज र युद्धको त्रासबाट मुक्त गरिदिए। गोर्बाचोभको ग्लासनोस्त र पेरेस्त्रोइका नीतिका कटु आलोचक रहेका युरोप बाहिरका कम्युनिस्ट पार्टीहरू पनि भित्रभित्र उनकै नीति अवलम्बन गर्न पुगे।
राजनीतिक क्षेत्रमा प्रतिस्पर्धात्मक निर्वाचन, अभिव्यक्ति स्वतन्त्रता र आर्थिक क्षेत्रमा निजी स्वामित्व, बजार व्यवस्था जस्ता प्रावधानहरूको खुलेर वकालत गर्न केही अपवाद बाहेक नेपाल लगायत प्राय: सबै कम्युनिस्ट पार्टीहरू आजकल कुनै संकोच मान्दैनन्। उनीहरूले पहिला दिने गरेका उत्पादनका सबै साधनहरूको राष्ट्रियकरण जस्ता नाराहरू आजकल विरलै सुन्न-देख्न पाइन्छ। यो गोर्बाचोभले ल्याएको वैचारिक क्रान्तिको परिणाम हो।
गोर्बाचोभ विश्व शान्तिप्रति समर्पित नेता थिए। देशको आर्थिक अवस्था कमजोर हुँदै गएको, कच्चा पदार्थको निर्यातबाट प्राप्त आयको ठूलो हिस्सा हातहतियार निर्माण र त्यसबेला अफगानिस्तानमा युद्ध गरिरहेको सोभियत सेनाको खर्चमा खेर गइरहेको देखेर उनले युद्धको अन्त्य गरी हातहतियारको होडबाजी रोकेर मात्र आफूले चाहेको विकास गर्न सम्भव हुनेछ भन्ने निर्णय निकाले। उनले सत्ता सम्हालेको समयमा शीतयुद्ध चरमोत्कर्षमा पुगेको थियो र सोभियत संघ र संयुक्त राज्य अमेरिका नयाँनयाँ विध्वंसात्मक हतियार बनाउने होडबाजीमा थिए।
गोर्बाचोभले परमाणु युद्धमा कोही विजयी हुन सक्दैन भन्ने धारणा राखेर अमेरिकासँग शस्त्र नियन्त्रणको प्रस्ताव राखे। गोर्बाचोभको सक्रियतामा सन् १९८७ मा सोभियत संघ र अमेरिकाबीच स्थल आधारित मध्यम दुरी परमाणु क्षेप्यास्त्र पूर्ण नष्ट गर्ने ऐतिहासिक सन्धि भयो। यस सन्धिले पहिलो पटक शक्ति राष्ट्रहरूलाई हतियार वृद्धि गर्ने होडबाजीबाट त्यसको कटौतीतर्फ दिशा निर्दिष्ट गर्यो।
यसै क्रममा गोर्बाचोभले लामो दूरीका अन्तरमहाद्विपीय परमाणु क्षेप्यास्त्र पनि कटौती गर्ने विषयमा सन् १९९१ मा अमेरिकासँग एक अर्को सन्धिमा हस्ताक्षर गरे। गोर्बाचोभ शासनमा रहेको जम्मा ६ वर्षको अवधिमा सोभियत संघ र अमेरिकाको नाभिकीय हतियार भण्डारमा असी प्रतिशतसम्म कटौती हुने गरी सम्झौता भएका थिए।
ती व्यक्तिहरू जो सोभियत संघको पूर्वी युरोपमा रहेको प्रभाव गुमेको, बर्लिन पर्खाल ढलेको र वार्सा सन्धि संगठनको विघटन भएको र अन्त्यमा सोभियत संघकै विखण्डन भएको घटनाहरूको लागि गोर्बाचोभलाई दोष दिन्छन्, उनीहरूले के अपेक्षा गरेका हुन्छन् भने गोर्बाचोभले पनि सन् १९५६ मा हंगेरी र सन् १९६८ मा चेकोस्लोभाकियामा सोभियत संघले गरे जस्तै सैनिक हस्तक्षेपद्वारा ती घटना रोक्नुपर्थ्यो। वास्तवमा गोर्बाचोभको महानता र शान्तिप्रतिको प्रतिबद्धता यसैमा स्पष्ट हुन्छ, उनले जस्तोसुकै अवस्थामा पनि युद्ध र बल प्रयोगको बाटो रोजेनन्।
पार्टी महासचिव निर्वाचित भएपछि देशका कुनाकाप्चाको भ्रमणमा रहँदा विभिन्न ठाउँका सर्वसाधारण जनताले भनेको यो भनाइ उनी स्मरण गरिरहन्थे, ‘मिखाइल सेर्गेइभिच्, हामीलाई खान लाउन पुगेन कि भनेर चिन्ता नगर्नु होला, हामी आफैं त्यसको व्यवस्था गर्न सक्छौं। तपाईंले युद्ध नहोस् भन्ने मात्र सुनिश्चित गर्नुहोला।’ गोर्बाचोभको शासनकालमा सोभियत संघले कुनै मुलुकमा पनि सैन्य हस्तक्षेप गरेन बरु अफगानिस्तान र पूर्वी युरोपेली मुलुकबाट सैन्य फिर्ता गर्यो।
सोभियत संघलाई एक लोकतान्त्रिक र समाजवादी मुलुक बनाउने पवित्र ध्येय भए पनि गोर्बाचोभले देशका विभिन्न तप्काहरूबाट पर्याप्त समर्थन पाउन सकेनन्। सत्तरी वर्षदेखि एकछत्र अधिनायकवादी शासन गरेर रमाएको कम्युनिस्ट पार्टी उनका लोकतान्त्रिक सुधार कार्यक्रमप्रति सुरुदेखि नै उदासीन रह्यो।
उनको सुधारले सत्ताको उपल्लो तहमा रहेर निर्वाध शासन गर्नेहरूको स्वार्थमा प्रत्यक्ष प्रहार गरेको थियो। चुनावमा प्रतिस्पर्धा नगरी सत्ताको भर्याङ चढ्न नसकिने प्रावधानबाट त उनका निकटतम कामरेडहरू पनि हैरान भए।
गोर्बाचोभका आर्थिक सुधारले निम्न आय भएका जनताको ठूलो हिस्सालाई पनि असर गर्यो। किनभने दशकौंदेखि राज्यको लागि मात्र काम गर्ने र राज्यबाट नै सबै फाइदा लिने प्रबन्धमा परेर उनीहरूमा राज्यप्रति अधिक परनिर्भरता एक दीर्घरोग भइसकेको थियो। रूस र कतिपय पूर्व सोभियत गणतन्त्रहरूमा राष्ट्रसंघका आयोजनाहरू अन्तर्गत काम गर्दा सोभियत संघको विघटनपछिका धेरै वर्षसम्म मैले रुसी भाषाको एक शब्द ‘इज्देभेनचेस्तवो’ पर्याप्त भेटेको थिएँ जसको अर्थ हुन्छ: सबै कुरा राज्यले पुर्याइदिनुपर्छ भन्ने अपेक्षाले सिर्जना गरेको शिथिलता।
सोभियत संघका अन्तिम वर्षहरूमा आधारभूत उपभोग्य वस्तुको मूल्य कृत्रिम रूपमा कम राख्न राज्यले दिने गरेको अनुदान राष्ट्रिय बजेटले धान्नै नसक्ने तहमा पुगेको थियो। गोर्बाचोभका सुधार सफल हुन जनताको एक हिस्सा आफ्नै व्यवसायमा निर्भर हुन सक्नुपर्दथ्यो र राज्यको दायित्व त्यही अनुपातमा घट्नुपर्दथ्यो। तर राज्यको दोहनमा बानी परिसकेका उपभोक्ताबाट अपेक्षित रूपमा त्यो अग्रसरता प्रकट भएन।
युरोप र अमेरिकामा जस्तो रूसमा पूँजीपति वर्ग थिएन। माथिल्लो तप्कामा उच्च पंक्तिका राजनीतिक र प्रशासनिक ठालुहरू मात्र थिए। उपल्लो र तल्लो दुवै तह तत्कालीन फाइदाको लागि गोर्बाचोभको सुधारप्रति असन्तुष्ट भएपछि उनको पक्षमा मध्यम वर्गीय बौद्धिक र नागरिक समाज मात्र रह्यो जसले लोकतन्त्र, मानवअधिकार, साहित्य, संस्कृति र वातावरणको जगेर्ना जस्ता दिगो मानव विकासका तत्वहरूबारे चिन्ता गर्दथ्यो।
राजनीतिक अंकगणितमा यिनीहरूको वजन गोर्बाचोभका राजनीतिक र आर्थिक सुधारको निरन्तरताको लागि पर्याप्त भएन। पर्याप्त जनसमर्थन विना शक्तिको भरमा सत्तामा बसिरहने शासक पनि हुन्छन् तर त्यो उपाय गोर्बाचोभको रोजाइमा थिएन। उनी भन्थे, ‘जार हुनको लागि बानीव्यहोरा पनि जारकै जस्तो हुनुपर्छ। तर त्यसो गर्न मैले जानेकै छैन।’
मिखाइल गोर्बाचोभ मानव इतिहासको एक निश्चित कालखण्डको आवश्यकता पूर्ति गर्न सोही युगले जन्माएका राजनेता थिए। उनले पूर्व र पश्चिमबीच रहेको वैचारिक र राजनीतिक द्वन्द्व शिथिल पार्न र उक्त द्वन्द्व जित्ने अभिप्रायले चर्कंदै गएको पारमाणविक मुठभेडको खतरनाक परिणाम निवारण गर्न ऐतिहासिक सफलता प्राप्त गरे। जम्मा ६ वर्ष राजनीतिक बागडोर सम्हालेर विश्वव्यापी रूपमा त्यो मात्रामा उथलपुथल ल्याउन सफल सायदै अरु कुनै नेता होला। गोर्बाचोभ सत्ताच्युत भएकै दिनदेखि निरन्तर रूपमा उनका उपलब्धिहरू उल्ट्याउने प्रयास भए।
पश्चिमी जगत शीतयुद्ध आफूले जितेको दावी गरेर गोर्बाचोभसँग भएका सहमतिहरूको उपेक्षा गर्न उद्यत देखियो भने सोभियत संघको उत्तराधिकारी बनेको रूस प्रतिशोधको आगोमा जलेर हिंसात्मक बाटोमा लाग्यो। तर एक रूसी कलाकारको भनाइ अनुसार गोर्बाचोभका सुधारहरूले कुनै पनि संकटको प्रतिरोध गर्ने रूसी जनताको क्षमता यसरी बढाएको छ कि हिंसाको बलमा शासन गर्नेहरू ढिलोचाँडो अवश्य परास्त हुनेछन् र विश्वभरका शान्तिकामी जनताको मन-मस्तिष्कमा उनी सदा अमर रहनेछन्।भियना
लेखक डा.श्याम उपाध्याय
श्रोत अनलाइनखबर