काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ सरेको छ ।
गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीसँग नियुक्तिबारे लिखित जवाफ माग गरेको थियो ।बिहीबारको सुनुवाइमा मन्त्रालयबाट मिसिल मगाइएको, तर चलचित्र विकास बोर्डको अध्यक्षमा सिफारिस गर्दा अंकभारको कागजात नपठाएकाले सोमबारका लागि पेशी सरेको निवेदकतर्फका कानुनी व्यवसायी अधिवक्ता सूर्यबहादुर पाण्डेले जानकारी दिए ।
भुवन केसीको नियुक्तिविरुद्धको पेशी न्यायधीश अनिल सिन्हा र सुष्मलता माथेमाको इजलासमा परेको थियो ।
विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै अध्यक्षका दाबेदार नरेश पौडेलसहित पाँच जनाले सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरुले केसीलाई अध्यक्ष पदमा रही कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश समेत माग गरेका थिए ।
श्रोत ः अनलाइनखबर