जयकृष्ण यादव
इनरुवा, भदौ १४ गते । सुनसरीमा पाँच दलिय गठबन्धनको बैठकमा निर्वाचन लक्षित छलफल भएको छ । यहाँका पाँच गठबन्धन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्री), नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्टिय जनमोर्चाको बैठक सम्पन्न भएको हो । सुनसरीका पाँच दलिय गठबन्धनको बैठक नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यालयमा बसी आगामी मंसिर ४ गते हुने आम निर्वाचनको बारेमा छलफल गरेको जनाएको छ । सबै दलले आफ्नो माग दावी र केन्द्रमा भएको छलफल र प्रारम्भिक सहमतीका बारेमा चर्चा भएको जनाएको छ । पार्टीहरुले अगामि निर्वाचनमा गठबन्धनलाई बहुमतका साथ विजयी गराउने रणनीतिका साथ अगाडि बढ्ने प्रतिवद्धता जनाएको बुझाएको छ ।
बैठकमा सहभागी काग्रेंसका जिल्ला सचिब विरेन्द्र कुमार साहका अनुसार पाँच दलिय गठबन्धनमा आवद्ध दलका तर्फबाट नेपाली कांग्रेस सुनसरीका सभापती केदार भण्डारी नेकपा माओवादी केन्द्रका अध्यक्ष योगेन्द्र मण्डल, नेकपा एसका अध्यक्ष गोविन्द निरौला, जसपाका रवीन राई सहितको उपस्थिती रहेको थियो । बैठक तथा छलफलमा केन्द्रले गर्ने गठबन्धनको निर्णय पालना गर्ने र आ आफ्नो कार्यकर्तालाई सोही अनुसार तयारी र परिचालन सहित सामूहिक क्षेत्रिय भेला समेत गर्ने निर्णय गरिएको जनाएको छ ।