इनरुवा । सुनसरीमा ठूलो परिमाणको काठ नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यलय सुनसरीले अवैध रूपमा ल्याएको आशंकामा चार वटा ट्रकमा लोड गरिएको ठूलो परिमाणको खयरको काठ नियन्त्रणमा लिएको हो ।
रामेछापबाट लोड गरी सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगको नाममा ल्याइएको उक्त परिमाणको काठ मंगलबार राति नियन्त्रणमा लिइएको डिभिजन वन कार्यलय सुनसरीका प्रमुख धर्मनाथ यादवले जानकारी दिए ।
रामेछापबाट लोड गरेर ल्याइएको बा. प्र. ०१–००६ ख २१११, बा. प्र. ०१–००६ ख ३३४९, म. प्र. ०३–००२ ख ००९५ र क. प. ०२–००१ ख ०४१९ नम्बरको ट्रकलाई
नियन्त्रणमा लिइएको यादवले जनाए । धरानस्थित वन कार्यलयमा राखेर अनुसन्धान भइरहेको यादवले बताए ।
चार वटा ट्रकमा लोड गरेर ल्याइँदै गरेको ३२ लाख मूल्य बराबरको ९८९.३२ किवि खयरको काठ डिभिजन वन कार्यालय रामेछापले नै शंकास्पद देखिएको जानकारी दिएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको यादवले बताए ।
ती ट्रकहरू अवैध रूपमा सुनसरी भित्रिएको सूचना पाएपछि वन कार्यलय सुनसरी र प्रहरीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।
उनका अनुसार उक्त ट्रकभित्र रहेका काठ बीच बाटोमै सिल खोलिएको पाइएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको हो ।