काठमाडौं। आज छठ पर्वको मुख्य दिन, भक्तजनहरूले अस्ताउँदो सूर्यलाई पूजा गर्दै श्रद्धापूर्वक अर्घ अर्पण गरिरहेका छन्। यसै अवसरमा देशभर उत्सवमय माहोल छ भने सरकारले सार्वजनिक बिदा पनि दिएको छ।
काठमाडौं उपत्यकामा छठको रौनक विशेष रूपमा देखिएको छ, जहाँ विभिन्न छठघाटहरू स्थापना गरिएका छन्। काठमाडौं महानगरपालिकाले कमलपोखरी, गौरीघाट, वंशीघाट, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिर, बालाजु बाइसधारा र कोटेश्वर दोभानजस्ता स्थानहरूमा विशेष सजावट, सरसफाइ र सुरक्षा व्यवस्थापन गरेको छ।
तराईका प्रमुख धार्मिक स्थलहरूमा पनि आज भक्तजनहरूको ठूलो भीड छ। जनकपुरधामका गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायतका सरोवरहरूको किनारमा श्रद्धालुहरू पूजा सामग्री लिएर भेला भएका छन्। यसैगरी, ग्रामीण क्षेत्रका पोखरी, तालतलैया, र खोलाकिनारका जलाशयहरूलाई विशेष रूपमा सजाइएको छ। पोखरी नभएका ठाउँहरूमा इनार सजाएर छठ पूजा गर्ने परम्परा पनि निरन्तर रहेको छ।
छठ पर्व विशेष गरी तराई क्षेत्रमा मनाइने भए तापनि अहिले पहाडी र हिमाली क्षेत्रमा पनि यसको लोकप्रियता बढ्दो छ। यसले नेपाली समाजमा सामाजिक सद्भाव र एकता थप बलियो बनाएको छ।
छठ व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र दुःखकष्ट हट्ने विश्वास जनस्तरमा कायम छ। यस अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरूले देशवासीलाई शुभकामना दिएका छन्।
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भक्तजनहरू रातभर जाग्राम बस्ने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्वको समापन हुनेछ।