काठमाडौं । सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् । घटनाका मुख्य आरोपी रुपेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ परेका हुन् ।
मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता बिरेन्द्र पासवानले जानकारी दिए ।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा रोइरहेको अवस्थामा फेला परेकी थिइन् । अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी थिइन् ।
आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै ‘भुईं घर’ मा झुन्डिएको अवस्थामा ३० माघको राति ७ः२० मा मृत भेटिएकी थिइन् ।घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो ।