गनेश कुमार यादव,
जेष्ठ १५ गते,इनरुवा ।१८ औं गणतन्त्र दिवसको अवसरमा इनरुवा नगरपालिकाभित्रका निजी तथा आवासीय विद्यालयमा कार्यरत आधारभूत तहदेखि कक्षा ८ सम्मका शिक्षकहरूबीच हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ।
सुनसरीको इनरुवा नगरपालिका वडा नं–३ स्थित ओम साईं पार्टी प्यालेसमा बिहीबार आयोजित कार्यक्रममा इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले शिक्षामा गुणस्तर अभिवृद्धि गर्न यस्ता प्रतियोगिताले सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको आयोजना निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) इनरुवा नगर समितिले गरेको हो। शिक्षकहरूको सिर्जनात्मक क्षमता, लेखन शैली तथा आकर्षक प्रस्तुतीकरणलाई प्रोत्साहन दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको इनरुवा नगर प्याब्सनका अध्यक्ष रमेश प्रसाद गुरागाईंले जानकारी दिए।प्रतियोगितामा इनरुवा इङ्गलिस बोर्डिङ स्कुलकी शिक्षिका अनन्ता आचार्य प्रथम, दमार्टर इङ्गलिस बोर्डिङ स्कुलकी शिक्षिका कञ्चन कोइराला द्वितीय, जनक स्मृति विद्यालयकी शिक्षिका प्रिया पोदार तृतीय तथा मल्टिपल क्रिएटिभ बोर्डिङ स्कुलकी शिक्षिका सान्त्वना स्थानमा विजयी भएका छन्। प्रशिक्षक तथा निर्णायक सुरज चौधरीले विजेताहरूको घोषणा गरेका थिए।
विजेताहरूलाई क्रमशः प्रथमलाई सिल्ड, मेडल, प्रमाणपत्र र नगद रु १५,०००, द्वितीयलाई सिल्ड, मेडल, प्रमाणपत्र र नगद रु १०,०००, तृतीयलाई सिल्ड, मेडल, प्रमाणपत्र र नगद रु ८,००० तथा सान्त्वनालाई सिल्ड, मेडल, प्रमाणपत्र र नगद रु ५,००० प्रदान गरिएको इनरुवा नगर प्याब्सनका सचिव गंगाराम मण्डलले जानकारी दिए।
कार्यक्रममा शस्त्र प्रहरी बल नेपाल ४ नं गण हेक्वा सुनसरीका प्रहरी उपरीक्षक निर्मल थापा, केन्द्रीय प्याब्सनका पूर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार शंकर थापा, मनोज कुमार यादव, जिवराज दाहाल, निरज नेपाल लगायतको आतिथ्यता रहेको थियो। इनरुवा नगरपालिका अन्तर्गतका निजी तथा आवासीय विद्यालयका शिक्षक शिक्षिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।