साउन १८ गते,
अछाम । अछाम जिल्लाको ढकारी गाउँपालिका–४ घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–१ मा बसोबास गर्दै आएका ४९ वर्षीय धर्म सिंह थापा बाघको आक्रमणमा परि गम्भीर घाइते भएका छन्।
शनिबार दिउँसो करिब ३ बजेको समयमा थापा ससुराली दाउन्मोरा गाउँबाट भिरमुड फर्किने क्रममा बसन्त सामुदायिक वनअन्तर्गतको बुकखोला डाँडामा अचानक बाघको आक्रमणमा परेका हुन्। आक्रमणका कारण थापाको दुवै गाला, टाउको र बायाँ पाखुरामा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
घाइते अवस्थामै थापालाई तत्कालै जिल्ला अस्पताल मंगलसेन पुर्याइएको छ। चिकित्सकका अनुसार अवस्था गम्भीर रहेको बताइएको छ।
घटनापछि सो क्षेत्रका स्थानीयहरू त्रसित भएका छन्। सामुदायिक वन क्षेत्रभित्र पुनः जंगली जनावरको आक्रमण हुन सक्ने भन्दै बासिन्दाले वन तथा सुरक्षा निकायसँग सुरक्षा प्रबन्ध माग गरेका छन्।



