इनरुवा । सुनसरीको काेशी गाउँपालिकाबाट साढे ३ सय केजी गाँजा बोकेको ट्रकसहित चारजना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ।
कोशी गाउँपालिका वडा नं–७, हरिपुरबाट प्रदेश १–०२–००२ ख ०४१४ नम्बरको ट्रकसहित चारजना कारोबारीलाई प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरीले ट्रकसहित ११ वटा बोरामा लुकाइराखेको ३ सय ४० केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि गाउँपालिका–४ का ३० वर्षीय जयप्रकाश राई, भोजपुरको पौवादुम्बा गाउँपालिका–६ का २२ वर्षीय समिर राई, सुनसरीको कोशी गाउँपालिकाका २५ वर्षीय भक्ति भनिने बिहारी मुखिया र २२ वर्षीय रुपेश यादव रहेकाे प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए ।
कालो त्रिपालले पछाडिको भागमा छोपिएको ट्रक चेकजाँच गर्ने क्रममा चालक राई ट्रक छोडेर भागेका थिए। त्यसपछि ट्रकको नम्बरका आधारमा यातायात कार्यालयसँग सहयोग लिई उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई अनुसन्धान थालिएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए ।