अशिष कुमार यादव
भदौ २७ गते, दुहबी । मोरङको बुढीगंगा गाउँपालिका स्थिति रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा तालाबन्दी भएको छ ।
सोमबार विश्वविद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूको संगठनले तालाबन्दी गरेको हो ।
सोमबार देखि लागु हुनेगरी विश्वविद्यालयका उपकुलपति मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगका अध्यक्ष , रजिष्टार र प्राचार्यको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
नेपाल सरकार ,भारत सरकार र मनमोहन स्मृति प्रतिष्ठानको त्रिपक्षीय सम्झौता भई २०६५सालदेखि सञ्चालनमा आएको मनमोहन प्राविधिक विद्यालयमा शिक्षक तथा कर्मचारीहरुको संगठनले तालाबन्दी गरेका हुन् ।
विश्वविद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरू विगत केही समयदेखि विभिन्न माग राख्दै आन्दोलनरत छन । व्यवस्थापन र आन्दोलनरत पक्षबीच पटक पटक छलफल भई माग पूरा गर्ने सहमति भएको थियो ।
मनमोहन प्राविधिक विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले संयुक्तरुपमा शिक्षक र कर्मचारीहरुको हकहितलाइ सम्बोधन गरिदिन उपकुलपतिलाई १८ बुँदे माग सहितको पत्र बुझाएका थिए । “विभिन्न चरणमा छलफल भएको थियो ,तर छलफल र परामर्श विपरीत शिक्षक, कर्मचारी लगायत प्राविधिकहरूको नियुक्ति तथा बढुवा सम्बन्धी कार्यविधि २०७९पारित भएको पाइयो ।
स्थायी शिक्षक तथा कर्मचारीको बढुवा र करारहरूको हकमा स्थायी गरि सूचना प्रकाशित गर्ने शर्त थियो तर त्यस्तो पाइएन । हामीले बाध्य भएर तालाबन्दी गरेका हौं “– संघर्षरत कर्मचारी तथा शिक्षकहरूको संगठन द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उल्लेखित विज्ञप्तिमा संघर्षरत पक्ष कुनै पनि सुनुवाइ भएको देखिएन ,हामीले तालाबन्दी गर्न बाध्य भएका छौं । यसबाट पर्नजाने असुविधाप्रति सम्बन्धित कार्यालयका प्रमुख जिम्मेवार हुनेछन् ।