इनरुवा । सुनसरीको इनरुवा नगरपालिका-४ हनुमान चोकमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले दुर्व्यवहार गरेको नेपाली उपभोक्ताले आरोप लगाएका छन् ।
आइतबार साँझ भारतीय बजारबाट घरायसी सामान ल्याउँदै गरेका नेपाली उपभोक्ताले आफूहरूमाथि सीमा प्रहरीले कपडा च्यातेर दुर्व्यवहार गरेको आरोप लगाएका हुन् ।
मैदा, मटर, चिनी लिएर आएकी पकलीकी सुनिता चौधरी र झुम्काकी हीरा चौधरीको कपडा च्यातिएको थियो । सुनिता र हीराका साथै वसन्ती चौधरी, श्यामवती चौधरी र चनावती चौधरीले पनि सशस्त्र प्रहरीको टोलीले दुर्व्यवहार गरेको गुनासो गरे ।
‘ड्रामा नगर भन्दै लुगा त्यातेर दुर्व्यवहार गरे,’ सुनिताले भनिन्, ‘अँगालाे हालेर पक्राउ गर्न खाेजे । लाठीले हानेर मारिदिन्छु भन्दै कुट्न खाेजियो ।’
प्रत्यक्षदर्शी तथा स्थानीय सेवती मेहताले भारतीय बजारबाट फर्किएका उपभोक्तामाथि कुटपिट गर्न खोजेपछि छुट्याउन आएको सुनाइन् ।
‘सामान छिनेर कुटपिट र हातपात गर्न खाेजेपछि देख्न नसकेर छ्ट्याउन आयौं,’ उनले भनिन्, ‘प्रहरी देउता हाे कि मानव हाे, पुलिस गुण्डा गर्न बसेकाे हाे ?’
यता, सशस्त्र प्रहरी सुनसरीका एसपी लकेश तुम्बाहाम्फेले खाद्यान्न लत्ताकपडामा भारतीय बजार जाने प्रवृत्तिलाई निरुत्साहित बनाउन सीमानाकामा कडाइ गरेको सुनाए ।
जाँचका क्रममा उपभोक्ताले बलजफ्ती गरेपछि आफूहरूले बल प्रयोग गरेको बताउँदै उनले भने, ‘गाडीबाट उतारेर बिलबिजकबिनाका सामग्री भन्सार लैजाने भनेका थियौं । तर, उहाँहरूले बलजफ्ती गर्नुभयो । त्यै पनि हामीले कसैको कपडा च्यातेर दुर्व्यवहार गरेका छैनौं ।’
‘फेरि त्यो उपभोक्ताको भन्दा पनि खुद्रा व्यापारीहरूको समूह थियो,’ उनले थपे, ‘निकै दिनदेखि हामीले उहाँहरूलाई सम्झाइरहेका छौं, तर पनि उहाँहरूले निरन्तर भन्सार नतिरी अवैध रूपमा सामग्री ल्याउने गर्नुभएको छ ।’
आन्तरिक बजारलाई प्रवर्द्धन गर्न र राजस्वको दायरा बढाउन भन्दै भन्सार कार्यालयले सय रुपैयाँभन्दा बढीको सामग्री भारतीय बजारबाट ल्याएमा भन्सार तिर्नुपर्ने नियम ल्याएको छ । सोही नियमानुसार सीमामा कडाइ गरेको एसपी तुम्बाहाम्फेले जानकारी दिए ।