इटहरी । इटहरीमा तीनवटा सवारीसाधन एकैठाउँ ठोक्किएर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् भने दुईजना सामान्य घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार आज दिउँसो १२ बजेतिर इटहरी १७ बालग्राममा तीनवटा सवारीसाधन एकैठाउँ दुर्घटना भएको जानकारी दिए ।
रायका अनुसार प्रदेश ३–००५ प ४६७७ नम्बरको मोटरसाइकल र बा १७ च ९१०५ नम्बरको कार एकापसमा ठक्कर भएको थियो ।
कारसँग ठक्कर भएको मोटरसाइकल पुनः प्रदेश १–०२–०४५ प ५८५६ नम्बरको मोटरसाइकलसँग ठक्कर भएर दुर्घटना भएको हो ।
दुर्घटनामा ४६७७ नम्बरको मोटरसाइकल चालक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ का २८ वर्षीय निलम लिम्बू र सोही मोटरसाइकलमा सवार २६ अन्दाजी २६ वर्षीय लक्ष्मण लिम्बू गम्भीर घाइते भएका छन् ।
उनीहरूको अहिले विराट नर्सिङ अस्पताल विराटनगरमा उपचार भइरहेको रायले जानकारी दिए ।
प्रहरीकाअनुसार ५०५६ नम्बरको मोटरसाइकल चालक इटहरी ४ बस्ने ४८ वर्षीय चेतनाथ भट्टराई र सोही मोटरसाइकलमा सवार बराहक्षेत्र ५ बस्ने ४८ वर्षीय कृष्ण ढकाल सामान्य घाइते भएका छन् ।
उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
४६७७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कार चालक त्रिभुवनारायण साह प्रहरीको सम्पर्कमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।