गनेश कुमार यादव
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह र कोशी गाउँपालिका स्थित पूर्वपश्चिम राजमार्गमा छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ ।
जिल्ला सदरमुकाम इनरुवा पश्चिमको सुनसरी खोलापुलदेखी कोशी ८ को कोशीव्यारेजसम्म छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढेको हो । मूख्य राजमार्ग भएपनि सवारी चापको आधारमा साँघुरो सडक त्यसमा पशुचौपाया चराउने र छाडा छाड्ने बढेपछि राजमार्गमा देखिने पशुचौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको स्थानीय यात्रु सुरेश यादवले बताउनुभयो ।
मूख्य राजमार्गकै सडकमा सवारी चाप त्यसमाथि छाडा पशुचौपायाको संख्या ह्वात्तै बढे पनि दीर्घकालीन व्यवस्थापनका लागि कुनै पनि निकायले ध्यान दिन नसक्दा छाडा पशुचौपाया चुनौतीको रूपमा देखिएको यादवको गुनासो छ ।
सवारीसाधनको चापका कारण चिरौली, लौकही, हरीपुर, भाण्टाबारीमा पैदलयात्रीलाई आवतजावतमा समस्या भइरहेको अवस्थामा भोक्राहा नरसिंह र कोशी गाउँपालिकाको सडकका तरकारी तथा फलफूल व्यवसायीलाई समेत असर गरेको स्थानीयबासीको भनाइ छ । यहाँ वर्षमा हुने १७ बढी दुर्घटनामा केही दुर्घटनाको कारण छाडा पशुचौपाया भएको ट्राफिक प्रहरीको भनाइ छ ।