पुस १५ गते, काठमाडौं । विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका छन् । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरु आजबाट नेपालमा नचल्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार विदेशबाट फर्किने क्रममा कसैले उपहारको रुपमा एकभन्दा बढी (दोस्रो) मोबाइल फोन ल्याएमा १८ प्रतिशत भन्सार लाग्ने र तेस्रो मोबाइल जफत नै गर्ने निर्णय सरकारले गरेको छ । यसैको विरोधमा विदेशमा बसेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विभिन्न स्टाटस राखिरहेका छन् । अहिले यो ह्यासट्याग ट्रेन्डिङमा देखिन्छ । अर्थतन्त्र थला परेको बेला ‘नो रेमिट्यान्स’ अभियान चलाइएकोमा धेरैजसोले दुःख व्यक्त गर्दै सामाजिक सन्जालमार्फत् नै सरकारको ध्यानाकर्षण गराएका थिए । श्राेत : अनलाइन खबर