माघ १ गते इनरुवा। सुनसरीकाे इनरुवामा मकर सङ्क्रान्ति उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दु स्वयम सेवक संघ नेपाल इनरुवा सुनसरीको आयोजनामा मकर सङ्क्रान्ति पर्व उत्सवको रुपमा सम्पन्न भएकाे हो । इनरुवा नगर क्षेत्रका सयौंको संख्यामा स्थानीयहरुको उपस्थितीमा सामूहिक रुपमा खिचडी कार्यक्रम सहित मकर सङ्क्रान्ति पर्व उत्सवको रुपमा मनाईएको संघका दिलिपचन्द साहुले जानकारी दिए । साहुका अनुसार संघद्धारा आयोजित उत्सवमा लोप हुन लागेको संस्कार, मैथिल भोजन र मकर सङ्क्रान्तिमा प्रयोग हुने सामग्री प्रदर्शन र उपभोग गरिएको थियो ।
हिन्दु स्वयम सेवक संघ नेपाल सुनसरीका संघ चालक मनोजकुमार यादवले उत्सवमा धार्मिक, सांस्कृतिक र भाषिक प्रहारको क्रम दिनप्रतिदिन बढदै गईरहेको परिपेक्षयमा संस्कार, संगठन र निस्वार्थ सेवामा जोड दिनुभयो । सबै नागरिकले अंश, बंश, संस्कार र जीवन पद्दतिलाई मर्यादित बनाई सन्ततिलाई संस्कार, संस्कृति र भाषाप्रति अपनत्व बोधको दायित्व महसुस गराउन संघको विस्तार १२ वटै स्थानीय तहको १२४ वटै प्रत्येक वडामा गर्नु आवश्यक रहेको धारणा राखेका थिए ।
संघका इनरुवा संघ चालक राजकुमार मेहताले हिन्दुत्व, मातृत्व, मातृभाषा, संस्कृति, सभ्यताको रक्षा गर्न सबै अग्रसर हुनुपर्ने खाँचो औल्याउनुभयो । उहाँले संघगठनसगैं आआफ्नो कला, सीपको प्रवद्र्धन र संस्थाको विस्तार तथा विकासका लागि सबै ऐक्यबद्ध हुनु जरूरी रहेको बताए ।
संघका विभाग सेवा प्रमुख एवम् पूर्व जिल्ला अधिकारी स्वर्ण बहादुर थापाले सबैमा मानवता र एकताको सन्देश प्रवाह गर्न मकर सङ्क्रान्ति पर्व उत्सवले योगदान गर्ने विश्वाश व्यक्त गरे ।
थापाले विभिन्न सुमदायले विभिन्न तरिकाले मनाउने भएपनि यो दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो एवम् खिचडी खाने र यी परिकारले जाडोमा न्यानो दिने भएकाले उत्सवको माध्यमबाट खिचडी कार्यक्रम पनि गरिएको बताउनुभयो । उहाँले चिसो समयमा पर्ने मकर संक्रान्ती पर्वमा तातोताजो परिकार खाने गरिएको समेत बताए । संघका विराटनगर संवाहक कार्यवाहक रतन कुमार चौधरीले समुदायमा धार्मिक, वैज्ञानिक र सनातनको समेत प्रचारप्रसार आवश्यक रहेको उनले बताए ।
त्यस्तै उत्सवको अवसरमा संघलाई जग्गा दान गर्ने रघुनाथ पंडितलाई सम्मान समेत गरिएकाे छ । संघलाई जग्गा दान गरेकाेले संघका विभाग सेवा प्रमुख एवम् पूर्व जिल्ला अधिकारी स्वर्ण बहादुर थापाले दाेसल्ला ओढाएर उनलाई सम्मान गरेका हुन् ।
संघका कोशी सम्वाहक श्रवण यादवले मानवता, शस्त्र र अस्त्र सहित पवित्रता, शुद्धता, स्वस्थता, सेवा र दायित्व निर्वाह समाहित रहेको चाडपर्वलाई जीवन्त राख्नु आजको आवश्यकता रहेको बताए। सूर्य मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर सङक्रान्ति र तिल खाने दिन भएकाले तिला सङ्क्रान्ति तथा यस दिनदेखि सौरमासको आवधारणा अनुसार माघ महिनाको आरम्भ हुने गरिएकाले माघे सङ्क्रान्ति पर्व भनिने चलन छ ।
सूर्यको गति यस दिनदेखि उत्तराभिमुख हुने भएकाले यसलाई उत्तरायण पनि भनिन्छ । मकर सङ्क्रान्ति पर्वका दिन मातापिताले सन्तानलाई तिल, गुड मिश्रित चामल दाहिने हत्केलामा तीन पटक राखिदिएर खान दिन्छन् ।
यस बखत मातापिताले तिल बहिदेव भनेर सोध्ने एवं सन्तानले तिल बहने बचनबद्धता जाहेर गर्ने गर्दछन् । मिथिलामा तिल बहिदेव भनेको निःस्वार्थ भावले सेवा गर्नु हो । यसमा मातापितालगायतका मान्यजनले आफ्ना सन्तान सरहका व्यक्तिलाई पनि तिलबही दिने गरिन्छ ।
यो पर्वले आयु, आरोग्य, सम्पति, रूप, गुण, पापबाट मुक्ति हुने मान्यताका साथै सन्तानले मातृपितृ ऋणको भारलाई बहन गर्ने विश्वास गरिन्छ । यस पर्वमा तिल बहिदेव भन्ने शब्दको उच्चारणको अर्थ तिलको ऋण बहन गर्ने हो ? भनेर सोधिने गरेको मान्यता रहेको पाइन्छ । कालो तिल विष्णु भगवानको स्वरूप मानिने धारणा रहेकाले यसलाई पवित्र अन्न मानिन्छ । यस पर्वमा तिल र मीठा खान दिँदा भगवान विष्णुको कृपा र माधुर्यले सन्तानको जीवन आप्लावित भइरहने विश्वास रहेको पाइन्छ ।
यस पर्वमा खिचडी खाने चलन पनि छ । यस दिनको खिचडीमा मासको दाल तथा अदुवाको प्रयोग गरिएको हुन्छ । कतिपय परिवारमा यस दिन कुलदेवताको स्थानमा खिचडीको नैवेद्य चढाइने गरिन्छ । पर्वमा खिचडीका साथ घीउ, पापड, दही र अचार खाने चलन रहेको पाइन्छ । यसका साथै (मुरहीको लड्डु ) चुरलाई (च्युराको लड्डु ) र तिलबा (तिलको लड्डु) का साथै च्युरा र मुरही खाने प्रचलन छ ।