विराटनगर। कोशी प्रदेशमा शनिबार रातीदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । २८ जना वेपत्ता छन् भने ६ जना घाइतेको उद्धार भएको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्यांक अनुसार खोलाले बगाएर भोजपुर र संखुवासभामा १/ १ जना पुरुषको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा ५ जना रहेका छन् । जसमा पाँचथरमा १ पुरुष र १ बालिका तथा ताप्लेजुङमा ३ जना पुरुष पहिरोमा पुरिएर मृत्यु भएको छ ।
यस्तै हालसम्म पहिरोले पुरेर वेपत्ता हुनेहरुमा पाँचथरमा ४, ताप्लेजुङमा ३ जना रहेका छन् भने खोलाले बगाएर वेपत्ता हुनेको संख्या २१ जना रहेको छ । जसमा संखुवासभामा १८ पुरुष र ३ जना महिला वेपत्ता भएको सो मन्त्रालयले जनाएको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा अनुसार मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुम–८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका– ९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ– ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा–६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ को सुरेश राई रहेका छन् ।
भौतिक संरचनादेखि पशुपंक्षी समेत क्षति
मन्त्रालयका अनुसार १५ वटा पुल क्षतिग्रस्त भएका छन् भने १७ स्थानमा सडक अवरुद्ध बनेको छ । यस्तै ५ वटा हाइड्रोमा क्षति पुग्नुको साटै ५४ घर विस्थापित बनेको छ ।
यस्तै ३ वटा सवारी साधन बाढीले बगाएको छ भने ३२ वटा भवन तथा घरहरु पूर्णरुपमा क्षतिग्रस्त बनेको प्रदेश सरकारले जनाएको छ । आंशीक रुपमा २२ घरमा क्षति पुगेको छ । यस्तै विभिन्न स्थानमा गरी हालसम्म बाढी र पहिरोमा परी ७४ वटा चौपाया तथा ८४ वटा पशु्पंक्षीको मृत्यु भएको छ । हालसम्म पहाडी जिल्लाको ४० रोपनी जग्गा बाढीले बगाइदिएको छ ।
पूर्व तयारीमा चरम लापरबाही
प्रत्येक वर्ष विपद्का यस्ता घटना बढ्दै गए पनि तीनै तहका सरकारले पूर्व तयारीमा चरम लापरबाही गर्दा क्षतिका घटना बढ्दै गएको सरोकारवालाहरुको बुझाई छ ।
संखुवासभा, खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गालगायतका जिल्लामा त्रिपाल, कम्मल लगायतका सामग्रीहरू मन्त्रालयले पठाएको मन्त्रालयले जनाएको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिकमतकुमार कार्कीले विपद् पूर्व तयारीलाई प्राथमिकता राखेका छैनन् ।
यद्यपि विपद् व्यवस्थापन कार्य योजना विषयमा छिट्टै बैठक बसेर टुङ्गग्याउने मन्त्रालयले जनाएको छ ।
सरकारले पूर्वतयारी स्वरूप ‘क्विक रेस्पोन्स टिम’ बनाउने तथा उद्धार गर्न चाहिने ट्युब, डोरी, बोटजस्ता सामग्री तयारी अवस्थामा राख्नुपर्ने भए पनि अहिलेसम्म सामग्री मन्त्रालयमा आइपुगेको छैन ।
जोखिमयुक्त क्षेत्रका बासिन्दाका लागि सुरक्षित वासस्थानका लागि कुनै तयारी समेत सरकारले गरेको छैन । बाढी पहिरोबाट विस्थापित बनेपछि सरकार चाउचाउ, बिस्कुट, नुन, तेलजस्ता खाद्यान्नका सामग्री बोकेर जाने भन्दा केही गर्न सकेको छैन ।
उद्धार तथा राहतका लागि कोशी प्रदेशका १४ जिल्लाका लागि झापाको चन्द्रगढीस्थित गुल्ममा प्रहरी राखिएको छ । तर उद्धार तथा राहतमा तुरुन्तै पुग्ने अवस्था भने नरहेको प्रहरीको भनाइ रहेको छ । १ सय २५ जनाको दरबन्दी भए पनि १ सय ७ जना हाल कार्यरत रहेका छन् । तत्काल ५० जना मात्रै उद्धार तथा राहतमा खट्न सक्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।