पोखरा । पोखरा महानगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत पोखराको पृथ्वीचोक-चाउथे-विजयपुर खोला पुलसम्म सडक मापदण्डभित्र पर्ने संरचनामा डोजर लगाउन सुरु गरेकाे छ ।
महानगरपालिकाले आजदेखि सडककाे मापदण्डभित्र रहेका संरचना तथा सामग्रीहरू हटाउने र सरसफाइ गर्ने अभियान थालेकाे हाे । पोखरा रंगशालाअघिबाट राजमार्गको मापदण्डमा पर्ने संरचना भत्काउन सुरु गरिएकाे छ ।
सडक ऐन, २०३१ ले राजमार्गबाट दायाँबायाँ २५/२५ मिटर सडक मापदण्ड निर्धारण गरेको छ । त्यो मापदण्डभित्र कुनै संरचना रहे त्यसलाई भत्काइने महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले बताए ।
`त्यो क्षेत्रमा हेभी इक्विपमेन्टसम्बन्धी सामान धेरै जथाभावी हुन्छन् । त्यसलाई हटाउने हो । मापदण्डभित्र संरचना छ भने डोजर पनि लाग्छ,´ उनले भने ।
महानगर एक्सनमा उत्रिएकाे क्षेत्र ४.७ किलोमिटर दूरीको छ । राजमार्गसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोडिएको छ । विमानस्थल गेटबाहिर नै वर्कसप, हेभी इक्विप्मेन्ट सेन्टर, जथाभावी फोहोरले कुरुप भएपछि महानगरले सफाइ अभियान अघि सारेको हो ।