कांग्रेससहित माओवादी, एकीकत समाजवादी र जसपासहितको समर्थनमा थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनी एक महिनाभित्र दोस्रोपटक मुख्यमन्त्री बनेका छन्।
कोशी प्रदेशमा पछिल्लो पटक गत २१ असारमा सरकार गठन भएको थियो। त्यसबेला सभामुख रहेका गौतमको हस्ताक्षरसहित थापा मुख्यमन्त्री बने पनि सर्वोच्च अदालतले नियुक्ति बदर गरेको थियो। सरकार गठन हुँदा थापालाई कांग्रेस, माओवादी, नेकपा एस र जसपाका ४६ सांसदको साथ थियो। जसमा सभामुख गौतमको हस्ताक्षरसहित ४७ सदस्य बनाएर मुख्यमन्त्रीका लागि दाबी पेस गरिएको थियो। सोही आधारमा प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
नेकपा एमालेले २२ असारमा असंवैधानिक ढंगबाट सरकार गठन गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा साउन ११ गते न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री थापाको नियुक्ति खारेज गरेको थियो।
साउन १२ गते प्रदेश प्रमुख खापुङले सर्वोच्च अदालतको आदेशबमोजिम नयाँ सरकार गठनको आह्वान गरेका थिए। सर्वोच्च अदालतको आदेशपछि खापुङले साउन १६ गते अपराह्न ५ः०० बजेसम्मको समयसीमा दिएर धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए। सोहीअनुसार सभामुख गौतमलाई राजीनामा गराएर बहुमत सदस्यको हस्ताक्षरमा थापा मुख्यमन्त्री बनेका हुन्।
९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ। थापालाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन छ। विपक्षमा भने नेकपा एमालेका ४० र राप्रपाका ६ सांसद छन्।