सुनसरी । धरान खानेपानी व्यवस्थापन बोर्डले धरानबासीलाई वितरण गरिरहेको पिउने पानीमा दिसापिसाबमा हुने जिवाणु ‘कोलिफर्म’ भेटिएको छ।
धरान उपमहानगरपालिकाको कार्यालय अगाडि ‘स्पेक्ट्रम इन्जिनियरिङ कन्सल्टेन्सी’ सञ्चालन गर्ने सुमन श्रेष्ठ साँझ कोठा फर्किंदा बजारबाटै बोतलको पानी किनेर लैजान्छन्। दुई साताअघि एकदिन बजारबाट पानी लान बिर्सिए। राति तिर्खाले व्याकुल भएपछि श्रेष्ठले घरकै धारामा आउने पानी थापेर पिए।
बिहान उठ्दा उनलाई हनहनी ज्वँरो आयो। पाखाला पनि लाग्यो। खपिनसक्नु गरी टाउको दुख्यो। निक्कै दिन औषधी उपचार गरेपछि तङ्ग्रिएका श्रेष्ठलाई राति धाराको पानी पिएपछि समस्या आएको प्रष्ट थियो। उनले चिने जानेका धेरै जनालाई पनि पेट दुख्ने, जीउ चिलाउने, आँखा पाक्ने, ज्वरो आउने समस्या देखिएको थियो। उनले सोचे, पक्कै पनि पिउने पानीमै गडबड छ।
धरानमा चार महीनायता डेंगीको महामारी फैलिएको छ। भाइरल ज्वँरो, आँखा पाक्ने समस्याले पनि उत्तिकै गाँजेको छ। डेंगी महामारी फैलिएपछि धरानका कतिपय नेता तथा वुद्धिजिबीले खानेपानी बोर्डले फोहोर पानी वितरण गरेका कारण विभिन्न रोग फैलिएको आरोप लगाउँदै आएका छन्।
धाराको पानी पिउँदा बिरामी परेका श्रेष्ठलाई पनि शंका लाग्यो। त्यसपछि उनले आफ्नै खर्चमा पानीको गुणस्तर परीक्षण गर्ने निधो गरे। उनी भन्छन्, “धरानभन्दा बढी फोहोरमैला देखिने इटहरी र विराटनगरमा यस्तो समस्या नहुनु, तर सफा भनिने धरानमा किन बिभिन्न रोग आईरहन्छ भन्ने जिज्ञासा लागेर पानी परीक्षण गराएँ।”
उनले धरानबासीले पानी पिउँदै आएको पानी ट्यांकी, धारा र स्रोत गरी सात ठाउँको नमूना संकलन गरेर साउन १५ मा खानेपानी मन्त्रालय अन्तर्गतको इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबमा दिए। साउन १६ मा ल्याबले दिएको रिपोर्टअनुसार, खानेपानी बोर्डले जमिनमुनीबाट बोरिङ गरि निकालिएको पानीमा मात्र ‘कोलिफर्म’ देखिएको छैन। अन्य ६ ठाउँको नमूनामा ‘कोलिफर्म’को मात्रा ५ देखि ३५ सम्म भेटिएको छ।
परीक्षण गरिएको पानीको नमुना।
मानिस र जनावारको दिसापिसाबमा पाईने जीवाणुको समूह हो, कोलिफर्म। पानीमा कोलिफर्म भेटिए खान अयोग्य मानिन्छ। राष्ट्रिय पिउने पानी गुणस्तर मापदण्ड २०७९ अनुसार पानीमा कोलिफर्मको मात्रा प्रति १०० मिलिलिटर शून्य कोलोनी फर्मिङ युनिट (सीएफयु) हुनुपर्छ। अर्थात पानीको कोलिफम हुनुहुँदैन।
धरान खानेपानी व्यवस्थापन बोर्डले धरान उपमहानगरपालिका वडा नंं. १७ र ११ को सीमा क्षेमा पर्ने विष्णुचोकमा स्थापना गरेको पानी ट्यांकीमा दुईवटा स्रोतको पानी मिसाईएको छ। त्यसमध्ये एउटा स्रोत जमिनमुनीबाट बोरिङ गरेर निकालिएको पानीमा कोलिफर्म देखिएको छैन।
त्यही ट्यांकीमा कोकाखोलाबाट ल्याएको पानी मिसाइएको छ। कोका खोलाबाट ल्याइएको पानीमा कोलीफर्मको मात्रा ५ पाइएको छ। धरानका हर्कराज राई (हर्क साम्पाङ)को नेतृत्वमा अभियान सञ्चालन गरेर कोका खोलाबाट पानी ल्याइएको हो।
त्यस्तै, बोर्डको सर्दु खोलामा रहेको रिजर्भेसन ट्यांकीको नमूना परिक्षण गर्दा कोलिफर्मको मात्रा १० भेटिएको छ। खर्दु खोलाको पानी ट्यांकीमा कोलिफर्मको मात्रा १५ भेटिएको छ।
यसैगरी, निसाने खोलाको निर्माण गरिदिएको पानी ट्यांकीमा कोलिफर्मको मात्रा २० भेटिएको छ। ब्रिटिस वेलफेयरको सहयोगमा मेयर साम्पाङको अभियान अन्तर्गत निसाने खोलाबाट पानी ल्याइएको हो। निसाने खोलाको ट्यांकीहरूमा विभिन्न खोलाबाट ल्याइएको पानी सोझै मिसाउने गरिएको छ।
ल्याबको परीक्षण रिपोर्टअनुसार, धरान-१३ को फुस्रोमा रहेको ट्यांकीको पानीमा कोलिफर्मको मात्रा ३० युनिट छ। त्यस्तै, धरान-१४ को विजयपुरस्थित ट्यांकीबाट धरान-३ स्थित गौधारामा ल्याइएको पानीमा कोलिफर्मको मात्रा ३५ युनिट छ।
मेयर साम्पाङको नेतृत्वमा सञ्चालन गरिएका अधिकांश अभियानबाट ल्याइएको पानीको वैज्ञानिक परीक्षण गरिएको छैन। खोला, खोल्सीबाट सिधै पाईप जडान गरेर ल्याइएको पानी सुद्धिकरण नगरी ट्यांकीमा मिसाउने गरिएको छ।
धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसको माईक्रोबायोलोजी विभागका संयोजक धिरेन लिम्बूका पानीमा ‘फिकल कोलिफर्म’ देखिनुको अर्थ दिसापिसाब मिसिएको छ भन्ने बुझिन्छ। यस्तो पानी खान नमिल्ने लिम्बू बताउँछन्। “फिकल कोलिफर्म देखिएको पानी खान अयोग्य हो,” उनी भन्छन्, “यसबाट झाडा पखाला, हैजादेखि विभिन्न रोग निम्तिन सक्छ। सुद्धिकरण नगरी यस्तो पानी पिउनु हुँदैन।”
सरकारी प्रयोगशालामा गरिएको पानी परीक्षणको रिपोर्ट: