इनरुवा । सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर एक जनाको भारतीय युवाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सुपौलका १९ वर्षीय अमरकुमार मेहता रहेका छन् ।
सोमबार बिहान कोसी ब्यारेजको १ नम्बर ढोका छेउमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका मेहतालाई खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको थियो ।
नदीमा पानीको वेगका कारण स्थानीयको प्रयास सम्भव नभएपछि गोताखोर टोली झिकाएर खोजी गर्ने क्रममा मेहताको शव बालुवामा गाडिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वार्टर सुनसरीका प्रमुख एसपी लकेश तुम्बाहाम्फेले जानकारी दिए । एसपी तुम्बाहाम्फेका अनुसार मेहता नदीमा नुहाएर छेउमै रहेको शिव मन्दिरमा जल चढाउने क्रममा थिए ।