मंसिर२२ गते, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध गरेको छ । भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि महानगर प्रहरी बलले हटाएको छ ।
तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि पनि प्रयोग गर्न रोक लगाएको छ ।
हरेक वर्ष २५ डिसेम्बरमा मनाइने क्रिसमस डे नेपाली पात्रो अनुसार यस वर्ष पुस ९ गते परेको छ । क्रिसमस डेको अवसरमा क्रिसमस ट्रिलाई झिलिमिली बत्तीले सजाएर राख्ने चलन छ ।
प्लास्टिकका क्रिसमस ट्रि, प्लास्टिकका फूल, माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ ।
प्लास्टिकका झोला तथा सामग्री नकुहिने र तिनले वातावरण प्रदूषण हुने भन्दै यसको प्रयोगमा काठमाडौं महानगरपालिकाले कडाइ गर्दै आएको छ ।