पुस ३ गते,वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतराधाममा चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय तृतीया सम्म १ महिना आयोजना हुने पूर्ण महाकुम्भ मेला महोत्सव तयारीको विषयमा नगर प्रमुख रमेश कार्की र नेपाल राष्ट्रका प्रथम जगदगुरु एवम् कुम्भ मेलाका परिकल्पनाकार बालशन्त मोहन शरण देवाचार्य बिच छलफल भएको छ ।
चैत्र-२७ गते चैत्र शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय तृतीया सम्म १ महिना चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेला स्थलमा भौतिक संरचना, विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा, प्रचारप्रसार, सरसफाइ, खानेपानी लगायत प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय र सहयोगका लागि सहजीकरण गर्ने विषयमा आज आइतबार बिहान छलफल भएको हो ।
जगदगुरु पीठ चतराधाममा भएको छलफलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्ल, वडा नं १ का अध्यक्ष किसन मगर, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिना, सशस्त्र प्रहरी वेश क्याम्प चतरा प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिगबहादुर गोले, नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर राजु भट्टराई, इन्जिनियर नवीन खनाल, राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठानका महा-सचिव प्रह्लाद भट्टराई, सचिव उद्धव प्रसाद घिमिरे, स्थानिय समाजसेवी चन्द्र मगर, ज्ञानबहादुर पाण्डे लगायतको समेत उपस्थिति रहेको थियो ।
पूर्ण महाकुम्भ मेला महोत्सवलाई भव्य बनाउन नगरपालिकाले नेतृत्व गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । यसका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय र सहयोगका लागि आग्रह गर्ने बताए । पण्डाल निर्माण, भान्सा घर निर्माण, सरसफाइ, प्रचारप्रसार, निमन्त्रणाको कामलाई तीव्र बनाइने कार्कीले बताए ।
कुम्भको विधान उल्लेखित हस्त लिखित पुस्तक अनुसार नै चतराधाममा कुम्भ मेलाको सुरुवात गरिएको जगदगुरु वालसन्त मोहन शरण बताउँछन् । अमृतको तर नै भेटिएको पिण्डेश्वर स्थित कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ-जहाँ अमृत खस्यो त्यहाँ-त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ । नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानी पनि रहेको छ। भारतको प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा अमृतको थोपा झरेको शास्त्रमा उल्लेख छ ।
नेपालमा पहिलो पटक २०५९ सालको चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत्र ६ गते देखि वैशाख शुक्ल तृतीया सम्म १ महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो । जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो ।
चतराधाममा २०६३/०६४ मा दोस्रो कुम्भ, २०७०/०७१ तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/०७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला सम्पन्न भइसकेको छ।
सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. १ चतराधाम कुम्भ नगरीको रूपमा परिचित छ । नेपालको एक मात्र कुम्भ स्थलको रूपमा रहेको चतराधाममा ४ पटक कुम्भ मेला सम्पन्न भइसकेका छन् । भारतको मध्य प्रदेश स्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नासिक र उत्तराखण्ड स्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएका छन् ।