रुपन्देही । रोल्पाको थवाङ गाउँपालिकामा बन्दुकको कुन्दाले हानेर ७१ वर्षीय वृद्धाको हत्या भएको छ । थवाङ गाउँपालिका-२ जाजरकोट टोलकी ७१ वर्षीया सारू रोकाको सोमबार मध्यराति हत्या भएको हो ।
उनको हत्या गरेको आरोपमा उनका नाति ३५ वर्षीय रामकुमार रोकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले नेपाल प्रेसलाई बताए ।
रोकाले बन्दुकको कुन्दाले वृद्धाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको उनको भनाइ छ ।
राति १२ बजे वृद्धाको हत्या भएको भन्ने सूचनापछि पुगेको प्रहरीले आरोपीलाई मदिराले मातेर घरमै सुतिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
हत्यामा प्रयोग भएको बन्दुक घटनास्थलदेखि ७५ मिटर पर पातिको झाडीमा फेला पारेको प्रहरीले बताएको छ ।
घटना थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घर्तीगाउँवाट प्रहरी निरीक्षक कृष्ण सोनीको कमाण्डमा थप ५ जनाको टोली घटनास्थलमा खटिएको छ ।