कार्तिक९ गते, सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ११ स्थित नवलपुर-मलंगवा सडकखण्डको बीचमा प्रहरीको विशेष अपरेसनमा १० के.जी. गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ।प्राप्त सूचनाका आधारमा प्रहरीको टोलीले उत्तरबाट दक्षिणतर्फ गइरहेको प्रदेश २-०३-०२२ प ०७६१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा मोटरसाइकल चालक हरिपुर नगरपालिका १ निवासी २२ वर्षीय सुलिन्द्र महतो कोईरी र पछाडि सवार बरहथवा नगरपालिका ९ निवासी १६ वर्षीय चन्दन शर्माको झोलाबाट ५/५ किलोको २ पोका गाँजा फेला परेको थियो।
प्रहरीले झोलामा राखिएको जम्मा १० के.जी. गाँजा र मोटरसाइकललाई नियन्त्रणमा लिई दुबै जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूविरुद्ध सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाही जनाएको छ।