कात्तिक २३ गते । प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा सुनसरीको देवानगञ्जमा श्रद्धाञ्जली सभा गरिएको छ ।
सिन्हाको तेस्रो दिनको पुन्य तिथिमा नागरिक मिडिया प्रा. लि. विराटनगरद्वारा आयोजित यस कार्यक्रमको अध्यक्षता मिडियाका प्रबन्ध निर्देशक एवम् पत्रकार अरविन्द मेहताले गर्नुभएको थियो । गायिका सिन्हा मैथिली र भोजपुरी भाषामा आफ्ना लोकगीतहरूको माध्यमबाट समाजको मन जित्न सफल गायिका रहनु भएको थियो । उहाँको योगदानलाई सम्मान गर्दै भारत सरकारले उहाँलाई ‘पद्म श्री’ र ‘पद्म भूषण’ जस्ता प्रतिष्ठित पुरस्कारहरूबाट सम्मानित गरेको थियो ।
शारदा सिन्हाले लोकसंगीतको क्षेत्रमा नयाँ आयामहरू थप्दै मैथिली र भोजपुरी लोकगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु भएको छ । श्रद्धाञ्जली सभामा देवानगंज गाउँपालिका वडा नम्बर २ का अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि जगनारायण मेहताले शारदा सिन्हाले हाम्रो विवाह संस्कारहरूलाई लोकगीतको माध्यमबाट सुन्दर जीवन दिइरहनुभएको बताउनुभयो । उहाँले सांस्कृतिक रीतिरिवाजलाई गीतको माध्यमबाट जिवन्त राख्न महत्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभयो ।
कार्यक्रममा भिमनन्दन शर्मा, रामसुन्दर मेहता, लक्ष्मण मेहता, मनमोहन यादव, विद्यानन्द मेहता, र राजु मेहताले पनि गायिका सिन्हाको योगदानको विषयमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार अरविन्द मेहताले शारदा सिन्हा केवल एक लोकगायिका मात्र नभएर गीतसंगीतको देवी रहेको बताउनुभयो । उहाँले लोकगीतलाई उच्च स्थानमा पुर्याउँदै हामी सबैको सांस्कृतिक धरोहरलाई समृद्ध बनाउन प्रेरणा दिनुभएको बताउनुभयो ।