जेष्ठ ९ गते ,इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ अमहा सिमसार क्षेत्रको भित्री सडकखण्डमा प्रहरीको चेकजाँचका क्रममा एक थान राइफल बरामद गरिएको छ।
गएराति १२:५० बजे विशेष सूचनाका आधारमा प्रहरी चौकी भरौलबाट खटिएको टोलीले धरानबाट कालाबञ्जारतर्फ आउँदै गरेको बा ६ च ८४०३ नम्बरको कालो कारलाई रोकेर चेकजाँच गर्दा कारभित्र ‘Webley & Scott LIT London & Birmingham, England’ लेखिएको खाली अवस्थामा रहेको एक थान राइफल फेला परेको हो।

चेकजाँचको क्रममा चालकसहित करिब ५ जना व्यक्ति प्रहरी देखेपछि जंगलतर्फ भागेका थिए। बरामद गरिएको राइफलमा गोली भने नभएको प्रहरीले जनाएको छ।
कार र राइफललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
घटनासँग तस्करी वा आपराधिक योजना जोडिएको आशंकामा अनुसन्धान अगाडि बढाइएको छ।
