असार २१ गते,इनरुवा । सुनसरीको इनरुवामा इनरुवा जेसीजको आयोजनामा किशोर किशोरीहरूलाई लक्षित गरी साइबर अपराधबारे जनचेतना फैलाउने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरिएको छ। शनिबार इनरुवा नगरपालिकाको सहयोगमा जिल्ला समन्वय समिति सुनसरीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
“साइबर अपराधको बढ्दो जोखिम र डिजिटल सुरक्षाका उपायहरू” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कता, व्यक्तिगत जानकारीको सुरक्षा, अनलाइन ठगीबाट जोगिने उपायहरूबारे सहभागीहरूलाई जानकारी दिइएको थियो। सहजीकरण जिल्ला प्रहरी कार्यालय सुनसरीका नरेश कुमार कटुवालले गरेका थिए। उनले साइबर अपराधका वास्तविक उदाहरण प्रस्तुत गर्दै सहभागीहरूलाई सजग र सतर्क रहन आग्रह गरे।

हालैका दिनहरूमा बढ्दो डिजिटल पहुँचसँगै साइबर अपराधको जोखिम पनि बढ्दै गएको सन्दर्भमा कार्यक्रमको महत्व अझ बढेको सहभागीहरूले बताए। तथापि, किशोर किशोरीहरूलाई लक्षित गरिएको भए पनि उनीहरूको उपस्थिति न्यून देखिनु खेदजनक रहेको जनाइएको छ।
कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिका वडा नं–१ का अध्यक्ष प्रमोद पोखरेलले यस्तो किसिमको कार्यक्रम विद्यालय तथा समुदाय तहसम्म लैजानुपर्ने आवश्यकता औंल्याए। उनले भने, “सभाहल, कोठा वा सडक र्यालीभन्दा पनि विद्यार्थी र अभिभावक सम्म सिधा पुग्ने कार्यक्रम प्रभावकारी हुन्छ।”

कार्यक्रममा उद्योग वाणिज्य संघ इनरुवाका सदस्य विरेन्द्र साह, जेसीज इनरुवाका निवर्तमान अध्यक्ष विकेश मेहता, नेहा मण्डल लगायत अतिथिहरूको उपस्थिति थियो। कार्यक्रम जेसीज इनरुवा २०२५ का अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने संस्थाका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।