भदौ १७ गते, इनरुवा । सुनसरीको झुम्का कारागारमा दुई जना कैदीको मृत्यु भएको छ।
सुनसरीको गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँव र धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको हो।
कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका उराँवलाई शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
उपचारकै क्रममा उनको सोमबार बिहान सवा १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, लागूऔषध मुद्दामा पुर्पक्ष कैदमा रहेका राईलाई बान्ता हुने र शरीर नचल्ने समस्या आएपछि बीपी प्रतिष्ठानमै भर्ना गरिएको थियो। उनको मंगलवार ९आज० बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
मृतक दुवै जनाको शव आफन्तले बुझेर लगेको जनाइएको छ।
उक्त कारागारमा गत भदौ ४ गते मात्रै भोजपुरको हतुवागडी गाउँपालिका–८ घर भई हाल धरान उपमहानगरपालिका–१२ बस्ने २८ वर्षीय विकास राईको मृत्यु भएको थियो। उनी अचानक बेहोस भएर ढलेका थिए। उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
पछिल्लो समय कारागारमै अस्वभाविक रूपमा ज्यान जान थालेपछि जिल्ला सुरक्षा समिति सुनसरीले कारागारको अनुगमन गरी तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न कारागार प्रशासनलाई निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार कारागारका ब्लक ए र ब्लक बी गरी दुवै ब्लकका कैदीहरूको स्वास्थ्य परीक्षण गरिने र गम्भीर समस्या देखिएका कैदीलाई स्थानान्तरण गर्ने तयारी भएको छ ।
झुम्का कारागारका दुई ब्लकमा हाल एक हजार ७९४ जना कैदी रहेका छन् ।



