असोज २० गते,इनरुवा । सुनसरीको कोशी गाउँपालिका–७ केराबारीस्थित धानबारीबाट प्रहरीले ठूलो मात्रामा लागू औषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी टोलीले असोज १९ गते राति ११:३० बजे धानबारीमा लुकाएर राखिएको अवस्थामा १३ वटा प्लास्टिकका पोका फेला पारेको थियो। ती पोकाबाट गाँजा जस्तो देखिने लागू औषध ५३७.१४० केजी (पाँच सय सैतिस किलो एक सय चालिस ग्राम) बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।
उक्त लागू औषधसँगै कोशी गाउँपालिका–७, केराबारीका ४५ वर्षीय दिनेश यादवलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रहरीले बरामद गरिएको गाँजा र पक्राउ परेका व्यक्तिविरुद्ध लागू औषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ।



