इनरुवा , कार्तिक २२ गते । सुनसरकाे बर्जु गाउँपालिका–५ गोचाकामत टोलस्थित भित्री सडक खण्डबाटप्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहवी र सितागञ्जबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले कार्तिक २१ गते शुक्रबार राति करिब ८ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–०२७च–०२४० नम्बरको सेतो रंगको स्कार्पियो गाडीलाई पछ्याउने क्रममा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार स्कार्पियो रोक्ने क्रममा चालक फरार भएको थियो। पछि गाडी चेकजाँच गर्दा कालो प्लाष्टिकमा प्याक गरिएको अवस्थामा ११ पोका गाँजा जस्तो देखिने लागू औषध फेला परेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । बरामद गरिएको गाँजाको तौल करिब २५७.४५ केजी (दुई सय सत्तावन्न किलो ४५० ग्राम)रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागू औषध र स्कार्पियो गाडीलाई इलाका प्रहरी कार्यालय दुहवीमा ल्याई आवश्यक अनुसन्धान भइरहेको र फरार चालकको खोजतलास जारी रहेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।



