इनरुवा । मित्रराष्ट्र भारतको ७७ औं गणतन्त्र दिवस (२६ जनवरी २०२६) को अवसरमा नेपाल–भारत मैत्रीसंघ सुनसरी शाखा, इनरुवाद्वारा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।
आज माघ १२ गते सम्पन्न उक्त कार्यक्रममा जाडोका कारण प्रभावित गरिब, असहाय तथा विपन्न वर्गका नागरिकहरूलाई कम्बल (ब्लेङ्केट) वितरण गरिएको थियो। कार्यक्रममा समाजसेवा तथा मानवीय सहयोगमार्फत नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, आपसी सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्य रहेको आयोजकले बताएका छन्।

कार्यक्रममा नेपाल–भारत मैत्रीसंघ सुनसरी शाखाका पदाधिकारीहरू, स्थानीय सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्तो किसिमको सामाजिक तथा सहयोगी कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे।
नेपाल–भारत मैत्रीसंघ सुनसरी शाखाले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



