इनरुवा । सुनसरीकाे इनरुवा–२ स्थित रहेकाे श्री राजाजी रामजी महतो (दास) माध्यमिक विद्यालयमा “राजाजी रामजी स्पोर्ट्स मिट २०८२” उद्घाटन गरिएको छ। बुधबार विद्यालय परिसरमा विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती, अनुशासन, प्रतिस्पर्धात्मक भावना तथा सर्वाङ्गीण विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त खेलकुद कार्यक्रम उत्साह र उमंगका साथ सुरु भएको हो।
कार्यक्रमका सभाध्यक्ष विद्यालयका प्रधानाध्यापक राम सागर मेहता रहनु भएको थियो भने प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधनारायण मेहता रहनु भएको थियो। त्यसैगरी वडा सदस्य बिरेन्द्र मेहता विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
उद्घाटन समारोहमा प्रमुख अतिथिबाट भलिबल फालेर खेलकुद प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको थियो। त्यसपछि विद्यार्थीहरूले मार्चपास तथा खेल प्रदर्शन गरेका थिए।
खेलकुद कार्यक्रम अन्तर्गत कबड्डी, भलिबल, ज्याभलिन थ्रो, सटपुट, ब्लो द बल, लङ जम्प र हाइ जम्प लगायत विभिन्न खेल प्रतियोगिताहरू सञ्चालन गरिने विद्यालयले जनाएको छ। प्रतियोगिताहरू २१ माघदेखि २३ माघसम्म सञ्चालन हुनेछन्।
समारोहमा बोल्दै अतिथिहरूले खेलकुदले विद्यार्थीमा नेतृत्व क्षमता, सहकार्य भावना र आत्मविश्वास बढाउने उल्लेख गर्दै यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्नुपर्नेमा जोड दिनुभयो।
विद्यालय परिवार, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिताले कार्यक्रम थप उल्लासमय बनेको थियो।




