जनकपुरधाम । छिमेकी मुलुक भारत उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउने भएको छ ।
जनकपुरधाममा आयोजन हुन लागेको रामायण काँन्क्लेवको उदघाटनमा सहभागी हुनको लागि योगी आदित्यनाथ जनकपुरधा आउन लागेको जनाइएको छ ।
शनिवार जनकपुरधाममा काँन्क्लेवको समुदघाटनको कार्यक्रम रहेको छ । मुख्यमन्त्री आउने निश्चित भइनसकेको बताउँदै जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले मंगलवार भ्रमणबारे टुंगो लाग्ने बताएका छन् ।
मुख्यमन्त्री योगी आदित्यनाथ तीनवर्ष पूर्व सीताराम विवाह महोत्सवमा सहभागी हुन जनकपुरधाम आएका थिए । मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको आमन्त्रणमा मुख्यमन्त्री योगी विवाह महोत्सवमा सहभागी भएका थिए ।
भारतको उत्तरप्रदेश सरकारको पर्यटन विभागको आयोजनामा जानकी जन्मभूमि जनकपुरधाममा यसै हप्ता अन्तर्राष्ट्रिय रामायण काँन्क्लेवको आयोजना हुन लागेको छ ।
भारत सरकारको रामायण सर्किट अन्तरगतको मार्गमा जनकपुरधाम पनि समावेश छ । उत्तरप्रदेशको पर्यटन संस्कृति विभाग, जानकी मन्दिर र जनकपुरधामको संयुक्त आयोजनामा हुन लागेको दुई दिवसीय काँन्क्लेवमा उत्तरप्रदेश राज्यका मन्त्रीहरु पनि आउने बताइएको छ ।
उत्तरप्रदेशको अयोध्या र जनकपुरधामबीच त्रेतायुगकालीन सम्बन्ध रहेको छ ।त्रेता युगमा भगवान रामले भगवान शिवको धनुष (पिनाक)लाई भंग गरेपछि मिथिलाकी युवराज्ञी सीतासित विवाह सम्पन्न भएको थियो ।
भारत सरकारले रामायणमा आधारित धार्मिक, सांस्कृतिक महत्व भएका स्थलहरुलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न रामायण सर्किट बनाएको छ ।रामायण सर्किटको प्रमुख स्थानहरु मध्ये जनकपुरधाम र धनुषाधाम एक हो । विश्वव्यापी मर्यादा पुरुषोत्तम राम अन्तर्राष्ट्रिय रामायण काँन्क्लेव जनकपुरधाम समेत भारतको ६ राज्य र श्रीलंकामा समेत गरी १० स्थानमा आयोजना गरिनेछ । जनकपुरधाममा पुसको ६ र ७ गते जानकी मन्दिर परिसरमा काँन्क्लेवको आयोजना हुनेछ ।
काँन्क्लेवमा भजन सम्राट पद्मश्री अनुप जलोटाको भजन सन्ध्या कार्यक्रम हुनेछ । मिथिला नाट्यकला परिषदले जानकी लीला र मथुराको बमर सिया र धोबियाले लोकनृत्य प्रस्तुत गरिने कार्यक्रम रहेको छ । काँन्क्लेवको उद्घाटन सत्रको अध्यक्षता मधेश प्रदेशकी राज्यपाल श्रीमती सुमित्रा भण्डारीले गर्ने छिन् ।कार्यक्रमको मुख्य अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह र विशिष्ट अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह रहेका छन् ।