इनरुवा, असार १४ गते । प्याब्सन इनरुवाको आयोजनामा इनरुवा–३ स्थित जनक स्मृति माध्यमिक विद्यालयमा शुक्रबार अन्तर विद्यालय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। “धनभन्दा विद्या ठुलो” भन्ने शीर्षकमा आयोजित उक्त प्रतियोगितामा इनरुवा नगरपालिका अन्तर्गत ८ वटा निजी विद्यालयका कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा दमार्टर इंग्लिस बोर्डिङकी छात्रा समीक्षा पोखरेल प्रथम, नवयुग एकेडेमीकी बेनिसा आचार्य द्वितीय, इष्टपोइन्ट इंग्लिस स्कूलका सृजल घिमिरे तृतीय र जनक स्मृति माविका आशिर्वाद पोखरेल सान्त्वना स्थानमा चयन भएका थिए।
विजयी विद्यार्थीहरूलाई प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष रमेश कार्की लगायत विशिष्ट अतिथिहरूले संयुक्त रूपमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे।
कार्यक्रमका प्रमुख अतिथि रमेश कार्कीले भन्नुभयो: “शैक्षिक गुणस्तर वृद्धिका लागि अध्ययनसँगै अतिरिक्त क्रियाकलाप अत्यावश्यक छन्। यस्तो वादविवाद प्रतियोगिताले बालबालिकाहरूको आत्मविश्वास, विश्लेषणात्मक सोच र अभिव्यक्तिको क्षमता वृद्धि गर्न ठूलो भूमिका खेल्दछ।”
यस प्रतियोगिताबाट विद्यार्थीहरूमा सार्वजनिक रूपमा विचार राख्ने आत्मबल, तार्किक चिन्तन गर्ने क्षमता, सकारात्मक प्रतिस्पर्धा र देश तथा समाजप्रति जिम्मेवार बनाउने प्रेरणा प्रदान भएको आयोजकहरूले जनाएका छन्।प्याब्सन इनरुवाले यसअघि पनि विद्यार्थीहरूको समग्र विकासका लागि समय-समयमा यस्ता अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आएको जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि सुनसरीका वरिष्ठ उपाध्यक्ष रमेश कार्की ,विशिष्ट अतिथि काेशी प्रदेश प्याब्सनका सल्लाहकार विष्णु काेइराला,अतिथि निरज नेपाल,राजकुमार मेहता,लाेकनारायण मेहता,जिवराज दहाल लगायतकाे आतिथ्यता रहेकाे थियाे।
साे नगर प्याब्सन इनरुवा सचिव तथा कार्यवाहक अध्यक्ष गंगाराम मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो।