असाेज २६ गते, माेरङ । ऋषि धमलाले सञ्चालन गरेको जनता जान्न चाहान्छन् कार्यक्रम छायाँङ्कन गर्ने क्रममा विवाद भएकाे छ । मोरङको सुन्दरहरैंचा नगरपालिका– १२ को वडा कार्यालयमा ऋषि धमलाले सञ्चालन गरेको जनता जान्न चाहान्छन् कार्यक्रम छायाँङ्कन गर्ने क्रममा विवाद भएको हो ।
आगामी निर्वाचनलाई केन्द्रीत गरि विभिन्न स्थानमा संवाद कार्यक्रम गर्दै आएका धमलाको कार्यक्रममा सहभागि स्थानीयलाई प्रश्न गर्न नदिएपछि विवाद भएको हो । कार्यक्रमको रेकर्डको तयारी गरिरहदाँ स्थानीयलाई प्रश्न सोध्नबाट रोकेपछि कार्यक्रमस्थलमै विरोध भएको स्थानीय पत्रकार राज पोखरेलले जानकारी दिनुभयाे ।
जनतालाई प्रश्न सोध्न र जनताको जिज्ञासा मेटाउनका लागि राखिएको कार्यक्रममा मोरङ क्षेत्र नम्बर– ३ बाट प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार भानुभक्त ढकाल, राप्रपाकी नेतृ रेखा थापा, र स्वतन्त्र उम्मेदवार जयराज संयोक उपस्थित थिए । कार्यक्रमका लागि नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा गएनन् ।
धमलाले झापा, सुनसरीमा मंसिर ४ महासंग्राम ब्यानरमा कार्यक्रम गरेका थिए । ति कार्यक्रममा सहभागि स्थानीयलाई प्रश्न गर्न दिइएको थियो । तर मोरङ क्षेत्र नम्बर ३ मा पूर्व निर्धारित कार्यक्रम स्थल परिवर्तन गरेर सुन्दरहरैचा नगरपालिका– १२ को वडा कार्यालयमा बनाइएकाे थियाे । कार्यक्रममा सहभागिलाई प्रश्न गर्न नमिल्ने नियम बनाइयो । प्रश्न गर्न नपाउने भएपछि कार्यक्रम स्थल पुगेका स्थानीयले विरोध गरे । स्थानीयको विरोधका कारण कार्यक्रम छायाङ्कन केही समय ढिलो भएको थियो ।