फागुन ३ गते,भेडेटार डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङकरको प्रयोग गरी नियन्त्रित लागूऔषध गाँजाको ओसारपसार गर्ने चारजनालाई ठूलो परिमाणको गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटार चौकमा मुलघाटबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७३२२ नम्बरको डिजेल–पेट्रोल बोक्ने ट्याङकरलाई रोकेर चेकजाँच गर्दा ट्याङकरको तेल लगाउने डिब्बाभित्र लुकाईछिपाई राखेको अवस्थामा ५ सय ९४ केजी लागूऔषध गाँजा फेला परेको थियो ।
गाँजा बरामद भएसँगै ओसारपसारमा संलग्न भारत अररियाका ४४ वर्षीय नईम खान, सहचालक एमडी अफ्रोज, ट्याङकरमा सवार ७० वर्षीय लखन महत्तो र रंगेली नगरपालिका ७ मोरङका ७० वर्षीय गयानन्द मण्डललाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।