गनेश कुमार यादव
पुस ८ गते,इनरुवा, । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बलाहा, सुनसरीको आयोजनामा तथा इनरुवा नगरपालिका वडा नम्बर–५ कार्यालयको समन्वयमा नव दृष्टि आँखा अस्पताल, इटहरीको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।
सुनसरीको इनरुवा–५ स्थित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बलाहामा पुस ८ गते मंगलबार आयोजित शिविरमा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। शिविरमार्फत २ शय जनाभन्दा बढी सेवाग्राहीले निःशुल्क आँखा जाँच,औषधी तथा परामर्श सेवा लिएका छन्।

आँखा जाँचका क्रममा २४ जना बिरामीमा मोतियाविन्दु देखिएको नव दृष्टि आँखा अस्पतालको चिकित्सक टोलीले जनाएको छ। ती सबै बिरामीको मोतियाविन्दुको शल्यक्रिया नव दृष्टि आँखा अस्पताल, इटहरीमा पूर्ण रूपमा निःशुल्क गरिने व्यवस्था मिलाइएको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड इनरुवा शाखाका प्रमुख अनिरुद्ध ठाकुरले जानकारी दिनुभयो ।
शिविरमा आँखासम्बन्धी सामान्य परीक्षण, औषधि वितरण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो। आर्थिक अवस्था कमजोर भएका तथा स्वास्थ्य सेवामा पहुँच कम भएका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको जीवन विकास लघुवित्त वित्तीय संस्थाले जनाएको छ।
कार्यक्रमले स्थानीय नागरिकको आँखाको स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै समयमै उपचारको अवसर उपलब्ध गराएको सहभागीहरूको भनाइ छ। आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।



