पुस १३ गते,काठमाडौं। कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस)परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले बताए ।
यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।
राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन । बरु छातीमा दाग देखिएको छ ।
पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो । पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।
उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो ।