रविन्द्र कुमार यादव
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ नम्बर वडा स्थित सुनसरी खोलामा भएको अवैध उत्खनन् गर्ने काम भइरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका ७ नं वडा अध्यक्ष बौवालाल यादवले ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा सुनसरी खोला अवैध उत्खनन् गरिरहेको आरोप लागेको छ ।
जिल्लामा वर्षेनी बाढीको चपेटामा रहेका नागरिकहरुलाई दुःख दिने नियतले जनप्रतिनिधिदेखि ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा स्काभेटर, टयाक्टरको प्रयोग गरी अवैध रुपमा सुनसरी खोला उत्खनन् गर्ने काम भइरहेको स्थानीयहरुले बताएका छन् ।
यो वर्ष पटक–पटक नेपाल प्रहरीले केहीको ट्याक्टर र टिपर नियन्त्रणमा लिएको भएपनि कारवाही नहुँदा इनरुवा नगरपालिका–९ स्थित बबिया, भोक्राहा नरसिंह गाउँपालिका वडा नं ७ चित्रगुप्त आधारभूत विद्यालय छेउँ र हरिनगर गाउँपालिका १ को भुटाहासहित दर्जन बढी स्थानबाट अवैध रुपमा सुनसरी खोला उत्खनन् गर्ने काम जारी रहेको स्थानीय पप्पु यादवले गुनासो गर्नुभयो ।
यादवका अनुसार सुनसरी खोलाबाट अवैध रुपमा उत्खनन् गरिरहेको बेला कहिलेकारी प्रहरीले नियन्त्रणमा लिएर फेरी दबाबपछि छाड्ने गरेकोले खोला दोहन बढेको हो ।
तत्कालीन अवस्थामा स्थानीयले खोला उत्खनन् भइरहेको सूचना भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादलाई दिएको र उहाँले प्रहरीलाई बोलाई स्काभेटर र टिपर नियन्त्रणमा लिएरपछि आईन्दा थप माटो नकाट्ने सर्तमा छाडिदिनुभएको थियो ।
सो घटना सेलाउन नपाउदै अवैध रुपमा सुनसरी खोला किनारमा उत्खनन गरी ५ देखि १० मिटरसम्म गहिरो बनाएको स्थानीय पत्रकार रविन्द्र यादवले बताउनुभयो ।