विनोद आचार्य
सुनसरी : इटहरीका शैक्षिक संस्थाले सेरोफेरोका सहरहरूका विद्यार्थीलाई आकर्षित गरि रहेका छन् । पहाडबाट अध्ययनका लागि मधेस झर्ने विद्यार्थीको पहिलो गन्तव्य पनि इटहरी नै बनेको छ । इटहरीका शैक्षिक संस्थामध्ये एकमात्र सामूदायिक जनता बहुमुखी क्याम्पस स्थापित छ । स्नातकोत्तर तह सम्म पढाई हुने क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दो छ। तर, पछिल्लो समय भने जनता क्याम्पसमा मुख्य राजनीतिक दलका नेताले नै क्याम्पसलाई राजनीति गर्ने थलो बनाएका छन् ।
घटना क्रम अनुसार जनता बहुमुखी क्याम्पसमा झन्डै दुई महिनादेखि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ । छ जना कर्मचारीको पदपूर्ति गर्न परीक्षा लिएको विषयलाई लिएर काँग्रेस निकट नेपाल विद्यार्थी संघ बाहेकका अन्य विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । नेपाल विद्यार्थी संघले चाँहि पदपूर्ति समितिका संयोजक काँग्रेसकै नेता विकास केसी भएकाले गर्दा तालाबन्दीमा साथ दिएन् । कर्मचारीको नियुक्त गर्न लिएको परीक्षा प्रकरण अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
अख्तियारले छानबीन गर्नका लागि कागजात माग गर्दा क्याम्पसले तालाबन्दी भएको जनाउँदै कागजात उपलब्ध गराउन सकेको छैन् । यसबीचमा क्याम्पस सञ्चालक समितिले विद्यार्थी संगठनलाई थुप्रैपटक वार्तामा डाकेर सहज वातावरण बनाउन आग्रह गर्दा पनि कुनै प्रगति हुन सकेको छैन् । एमालेका जिल्ला अध्यक्ष समेत रहनु भएको रेवती रमण भण्डारी सञ्चालक समिति अध्यक्ष हुनुहुन्छ । तर, उहाँले चाँसो नदिएकै कारण समस्या सिर्जना भएको नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट क्याम्पस सञ्चालक समितिमा प्रतिनिधीत्व गर्नेहरुको जिकिर छ । ‘अध्यक्ष भण्डारीले विद्यार्थी समूहलाई आफ्नै नेताहरुले उचालेका रहेछन भनी आलटाल गर्दै आउनुभएको छ,’ पदपूर्ति समितिका संयोजक विकास केसीले भन्नुभयो ।
पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राप्रविसंघले भने तालाबन्दीप्रति समर्थन फिर्ता लिएको छ। नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट क्याम्पस सञ्चालक समितिमा प्रतिनिधीत्व गर्नेहरुले बुधबार पत्रकारलाई डाकेरै राजनीतिक स्वार्थपूर्तिका लागि क्याम्पसभित्रबाटै खोलिएको खेलको प्रभाव भएको दावी गरेका छन् ।
नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट क्याम्पस सञ्चालक समितिमा प्रतिनिधीत्व गर्नेले दावी गरेजस्तै तालाबन्दी गर्ने विद्यार्थी संगठन अनेरास्ववियूका नेता उज्जवल सिग्देलको आरोप कलेजका प्राध्यापहरुमाथि छ । ‘क्याम्पसका धेरै प्राध्यापकहरुको नीजि कलेज हुँदा गलत सन्देश प्रवाह गर्दा समस्या भइहरेको छ,’ उहाँले भन्नुभयो ।
सञ्चालक समिति अध्यक्ष भण्डारीले भने तालाबन्दी गर्ने विद्यार्थी संगठनलाई कुनै पनि राजनीतिक दलले समर्थन नगरेको दावी गर्नुभएको छ । उहाँले सवै मिलेर समस्या समाधान गरिने बताउनुभयो । तर, पदपूर्ति समितिबाट केही गढबढ भएकाले समस्या भएको बताउनुभयो ।
त्यसो त विद्यार्थीले जारी राखेको तालाबन्दीले कर्मचारी नियुक्त गर्न लिएको परीक्षासम्बन्धी कागजात त क्याम्पसले पठाउन सकेको छैन । क्याम्पसको जग्गाको अभिलेख वास्तविक नभएको जनाउँदै अख्तियारमा परेको अर्को उजुरीको सम्बन्धमा पनि यकिन विवरण पठाउन सकेको छैन् । क्याम्पसमा दलहरुबीचको शक्ति सन्तुलन मिलाउन पछिल्लो समय एमालेद्दारा सहायक क्याम्पस प्रमुखमा बार्गेनिङ् भइरहेको जानकारी दिइएको छ । यसरी क्याम्पस सञ्चालक समिति गठन हुँदा इटहरीका मुख्य राजनीतिक दलकै सहमतिमा गठन भएको थियो । तर, यतिबेला तीनै राजनीतिक दलका नेता क्याम्पसलाई राजनीति गर्ने थलो बनाइ रहेका छन् । जसले गर्दा शैक्षिक संस्थालाई राजनीतिबाट मुक्त गर्नैपर्छ ।