माघ ११ गते, इनरुवा । जिल्ला अस्पताल सुनसरी इनरुवाको विकास र प्रशासनिक काम कारवाहीमा नीतिगत निर्णय गर्ने अधिकार पाएको अस्पताल विकास समितिमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरुको स्वार्थका कारण अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ ।अस्पताल विकास समितिमा रहेका जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, नेकपा एमालेका पर्शुराम यादव र धिरामाया राई, नेकपा माओवादी केन्द्रका तोया गिरी र घुब्र पंडित र अन्य शक्ती केन्द्रले २०७९ माघ १ गतेबाट करार सेवाका चिकित्सक तथा स्वास्थ्य सेवाका कर्मचारी हटाएर भागवण्डामा आफू निकटका व्यक्ति र दलका कार्यकर्ता भर्ना गर्न स्वार्थप्रेरित चासो राखेपछि अस्पतालमा सेवानै बन्द हुने अवस्थामा आएको हो ।
१ नं प्रदेश सरकारको मातहातमा रहेको जिल्ला अस्पतालमा जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष तथा राजनीतिक दलबाट ५ जना प्रतिनिधि विकास समितीको सदस्य रहने कानुनी व्यवस्था अनुसार गठन भएको विकास समितिले ६ महिनादेखि बैठक बसेर नीतिगत निर्णय नगर्दा अस्पताल दुईवर्ष अगाडिकै अवस्थामा पुग्न लागेको हो ।
अस्पताल विकास समितिको बैठक ६ महिनादेखि बस्न नसक्दा जिल्ला अस्पताल सुनसरी इनरुवामा आवश्यक स्वास्थ्य सामग्री उपकरण खरिद नहुनुका साथै विशेषज्ञ चिकित्सक र कर्मचारीको माघ महिनादेखि करार अवधी थप नहुँदा अस्पतालको सेवा संचालन बन्द हुने अवस्थामा पुगेको हो ।
श्रोतका अनुसार अस्पताल विकास समितिमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि र विकास समितिका अध्यक्षले औजार, उपकरण, मेसिनरी सामानलगायत खरिदमा आफु अनुकुल हुनेगरि नीतिगत निर्णय गराउन नपाएपछि समितीको बैठक ६ महिनादेखि बस्न सकेको छैन ।
जिल्ला अस्पताल इनरुवामा कार्यरत रहेका विशेषज्ञ चिकित्सकहरुको करार अवधी गत पुस मसान्तमा सकिएपछि उनीहरुको कानुन्त स्वत सेवाबाट हटेका छन भने विभिन्न पदका कार्यरत रहेका ६० जना कर्मचारी तथा स्वास्थ्यकर्मीको समेत करार सेवाको म्याद थप नहुँदा अस्पताल जनशक्ति अभावमा बन्द हुने अवस्थामा पुगेको हो ।
अस्पतालमा आँखा उपचार सेवा संचालनका लागि आवश्यक पर्ने स्लीट ल्याम्प नाम गरेको मेसिनरी औजार उपकरण खरिद नहुँदा आखाँ उपचारका लागि नियुक्त भएका चिकित्सक ६ महिनादेखि बेरोजगार भएर बसेका छन् ।
त्यसैगरि जिए मेसिन, थाइराइड सिएलआइए मेसिन, अर्थो सर्जरी, ओटी लाइट आइसियु एनआइसियुमा चाहिने औजार, मेसिनरी उपकरण तथा अस्पतालमा फिजियोथेपारी सेवा संचालनका लागि आवश्यक रहेको फिजियोथेरापी सेटअप र ल्याबका लागि चाहिने रिएजेन्टहरु टेण्डर प्रक्रियाबाट खरिद सरकारले करिब १ करोड रुपैयाँ फिर्ता जाने अवस्थामा पुगेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर देवराज घिमिरेलाई अस्पतालका चिकित्सक तथा कर्मचारीले सोमबार एक ज्ञापनपत्रमार्फत अस्पतालमा ६ महिनादेखि नीतिगत निर्णय नहुँदा उपचार सेवाका साथै उपचारका लागि आवश्यक औजार उपकरण मेसिनरी सामान खरिद नहुँदा सेवा प्रवाहमा समस्या रहेको भन्दै ध्यानआर्कषण गराई आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
अस्पतालका चिकित्सक र कर्मचारीले अस्पतालभित्र प्रत्यक्ष रुपमा राजनीतिक दलका नेताहरुको हस्तक्षेपका कारण सुधार हुँदै उपचार सेवामा विश्वसनियता कमाउदै गएको अवश्थामा ६ महिनादेखि अस्पताल विकास समितिको बैठक नबसेकाले आवश्यक सामग्री उपलब्ध नहुनुका साथै चिकित्सकको सेवा सुविधासमेत प्राप्त नभएको ज्ञापनपत्रमा उल्लेख गरेका छन्।
त्यसैगरि हाल निजी क्षेत्रबाट सम्झौता गरि अस्पतालको सुरक्षामा खटाईएका सुरक्षाकर्मीलाई हटाएर अस्पतालकै निजी आम्दानीबाट नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका नेताहरुको पहुँचमा भएका मानिसलाई भागवण्डाको आधारमा सुरक्षाकर्मी राख्ने तयारी गरेको बुझिएको छ ।
श्रोत ः वर्णमाला अनलाइन