राजन कुमार साह
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं–५ बलाहास्थित नवयुग एकेडेमीले अभिभावक दिवस भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ।
शनिबार विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रम इनरुवा–५ का वडा अध्यक्ष अनिल कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा एकेडेमीका अध्यक्ष केदारप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत, कविता वाचन, नाटक तथा अन्य प्रतिभा प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको सशक्त प्रस्तुति देखेर अभिभावकहरू उत्साहित मात्र नभई भावुक समेत बनेका थिए।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले विज्ञान विषयमा वर्षभरि गरेका प्रयोगात्मक गतिविधिहरू ‘विज्ञान प्रदर्शनी’मार्फत प्रस्तुत गरेका थिए, जसले अभिभावकहरूको विशेष ध्यान आकर्षित गरेकाे थियाे।


अभिभावक दिवसको मुख्य उद्देश्य विद्यालयले एक वर्षभित्र गरेका शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा भौतिक पूर्वाधार विकाससम्बन्धी गतिविधिहरू अभिभावकसमक्ष प्रस्तुत गर्नु रहेको विद्यालयका व्यवस्थापन निर्देशक खगेन्द्र पोखरेलले जानकारी दिए। साथै आगामी शैक्षिक योजनाबारे समेत अभिभावकहरूलाई अवगत गराइएको उनले बताए।

सोही अवसरमा विद्यालयले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै प्राथमिक उपचार केन्द्र स्थापना गरेको छ। उक्त केन्द्रमा विद्यालय सञ्चालन अवधिभर एकजना चिकित्सक रहने व्यवस्था मिलाइएको एकेडेमीले जनाएको छ। साथै यस वर्षदेखि एक विषयमा स्मार्ट कक्षा सञ्चालनमा ल्याइएको जानकारी पनि दिइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले अभिभावक दिवसले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै विद्यार्थीहरूको समग्र विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताए।
धन्यवाद ज्ञापनसहित सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक शिक्षिका, अभिभावक, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


