इनरुवा । प्रतिनिधिसभा सुनसरी निर्वाचन क्षेत्र नं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लाल विक्रम थापा शानदार मतसहित निर्वाचित भएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार थापाले ५० हजार ३४८ मत प्राप्त गर्दै स्पष्ट अग्रताका साथ विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजीव कोइराला ले २६ हजार ०७२ मत प्राप्त गरेका छन्। थापा र कोइरालाबीच २४ हजारभन्दा बढी मतान्तर देखिएको छ, जसले यस क्षेत्रमा मतदाताले नयाँ राजनीतिक विकल्पप्रति देखाएको भरोसा प्रस्ट पारेको छ।
यसैगरी अन्य उम्मेदवारमध्ये नेकपा (एमाले) का सुजन लामा ले ८ हजार ३०३ मत, श्रम संस्कृति पार्टीका चेतन राई ले ७ हजार ४५४ मत, नेपाली कम्युनिष्ट पार्टीकी राम कुमारी चौधरी ले २ हजार ५८९ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेश कुमार बस्नेत ले २ हजार २८७ मत प्राप्त गरेका छन्।
यसैबीच, परिणाम सार्वजनिक भएपछि नेपाली कांग्रेसका उम्मेदवार राजीव कोइराला ले विजयी उम्मेदवार लाल विक्रम थापालाई मत गणना स्थालमै पुगेर खादा ओढाएर बधाई तथा शुभकामना दिएका छन्। उनले मतदाताप्रति आभार व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्ने र आगामी दिनमा पनि क्षेत्रको विकास तथा जनताको हितका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।



