इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं–८ मा शनिबार सरहुल पर्व उराँव (कुडुख) समुदायले परम्परागत विधि र संस्कृतिअनुसार भव्य रूपमा मनाएका छन्।
शनिबार राजी पहाडा सरना प्रार्थना सभा नेपालीको आयोजनामा प्रकृतिप्रतिको आस्था, नयाँ वर्षको स्वागत र सामुदायिक एकताको प्रतीकका रूपमा मनाइने यस पर्वमा धार्मिक अनुष्ठानसँगै नगर परिक्रमा समेत गरिएको थियो।
विहानै पाहन (पुजारी) र पुजनहारले नजिकैको जलस्रोतबाट पवित्र पानी ल्याई सरना पूजा स्थल (चाला टोंगा)मा विशेष पूजा सम्पन्न गरेका थिए। पूजा सामग्रीमा फूल, अक्षता, चामल, सिन्दूर, धागो तथा नयाँ बालीका अन्नसमेत प्रयोग गरिएको थियो। सरना झण्डा गाडेर सामूहिक रूपमा प्रार्थना, भजन र पूजा गरिनुका साथै उपस्थित भक्तजनलाई फूल, अक्षता र पवित्र जल वितरण गरिएको थियो।

उराँव परम्पराअनुसार सरहुललाई पूर्ण रूपमा प्राकृतिक पर्वका रूपमा लिइन्छ। यस अवसरमा जल, जंगल र जमिनको पूजा गर्दै प्रकृतिप्रति कृतज्ञता व्यक्त गरिन्छ भने दुध, दही जस्ता पदार्थको प्रयोग नगर्ने तथा जीवजन्तुको बलि नदिने परम्परा पनि रहेको छ।
पर्वको अर्को मुख्य आकर्षण नगर परिक्रमा रह्यो। परम्परागत भेषभूषामा सजिएका महिला–पुरुष, युवा तथा अगुवाहरू बाजागाजा, सरहुल गीत र लोकनृत्यसहित सहभागी भई नगर परिक्रमा गरेका थिए।
सरहुल पर्वले उराँव समुदायमा मात्र होइन, समग्र समाजमा मेलमिलाप, सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ। विगतका तिक्तता भुल्दै आपसी सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा पनि यस पर्वलाई लिने गरिएको स्थानीयको भनाइ छ।


