कसको प्रहरी
(न त तिम्रो, न त मेरो,
केवल राज्यको प्रहरी)
हिजो तिमिले राणाको प्रहरी भन्यौं ।
फेरि तिमिले कालो काङ्ग्रेसको प्रहरी भन्यौ ।।
दिन गयो, रात फेरियो, तारा झर्दै गए ।
प्रजातन्त्र पछि २०४६ सालमा पञ्चे प्रहरी भन्यौं ।
प्रहरीलाई खैरेको नाम दियौं ।।
खैरो लुगा बदलियो, रूप फेरियो,
तर तिमिले डण्ठे भन्दै गयौ ।।
प्रजातन्त्र आएसँगै प्रहरीमा राजनीति भर्दै आए ।
सरकार बदलिए, नेतृत्व बदलिए,
नेपाल प्रहरीलाई नाम दिँदै बिदा भए ।।
माओवादी जनयुद्धका नाममा विद्रोही गाउँ आए,
विद्रोहिलाई रोक्ने क्रममा कति प्रहरी सहिद भए ।।
रेडियो र छापामा
मानिस होइन प्रहरी मरेका समाचार छाए,
कति प्रहरी त विद्रोहीको निशाना बनी
लास बनेर फर्किए ।।
राम्रैसँग राज्य बचाउन खटेका प्रहरी
कहिले राजाका भए,
राजसंस्था हटेपछि फेरि
तिनै प्रहरी कहिले कांग्रेसका त कहिले कम्युनिस्टका भए ।।
सत्ता फेरिँदै गयो,
कहिले तिम्रा भए, कहिले मेरा भए,
हिजो दल र पार्टीको प्रहरी भन्यौं ।।
आज कसको प्रहरी तिमीले भन्न सक्छौ ?
तिमीलाई आपत पर्दा
“मेरो प्रहरी” भन्ने देख्यौं ।।
आज थाहा भयो होला—
न त तिम्रो प्रहरी,
न त मेरो प्रहरी,
केवल राज्यको प्रहरी ।।
✍ रचनाकार: शिवकुमार शर्मा
इटहरी–५, सुनसरी



