सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनसरी क्षेत्र नम्बर–२ का उम्मेदवार लालविक्रम थापाले चुनावी सभामा दिएको अभिव्यक्ति विवादमा परेको छ।
सभामा बोल्दै उनले भने, ‘सुनसरी जिल्लाको इनरुवा हेर्नुभयो भने इनरुवाको अवस्था कस्तो छ? आज त्यहाँका युवाले फेसबुकमा ‘म इनरुवाको बासिन्दा हो’ भनेर लेख्न पनि हिचकिचाइरहेको छ। हो कि होइन? देवानगञ्जको अवस्था पनि त्यस्तै छ।’
थापाले रामधुनी क्षेत्रको अवस्थामाथि टिप्पणी गर्दै पर्यटन विकासको आवश्यकता औँल्याए। ‘रामधुनी हेर्नुभयो भने जहाँ रामले धुनी तापिरहेको ठाउँ हेर्नुस् त? आज बाँदरले धुनी तापिरहेको छ। हामी यही हेरिराख्न सुहाउँछ?’ उनले प्रश्न गरे।
उनले इटहरीको विकासको उदाहरण दिँदै अन्य क्षेत्र पनि रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए। उनले थपे, ‘इटहरी फेरियो। तपाईँ इटहरी आउँदा कस्तो लाग्यो? मन रुने छ इटहरी चोक।’
साथै, प्रतिनिधिसभामा सिट संख्या निर्णायक हुने उल्लेख गर्दै ‘एउटा मात्रै सिट तलमाथि भयो भने नेपाली जनता हार्नेछन् र जनताको सरकार बन्ने छैन,’ भन्ने चेतावनी दिए।
उनको अभिव्यक्तिप्रति स्थानीयवासीले सामाजिक सञ्जालमा आलोचना गरेका छन्।
थापाको अभिव्यक्तिपछि इनरुवा निवासी पत्रकार राजेन्द्र पोखरेलले आपत्ति जनाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूलाई इनरूवावासी भन्न गर्व लाग्ने बताएका छन्। ‘म गर्वका साथ भन्छु, म इनरूवावासी हुँ। मलाई मेरो इनरुवा संसारकै सबैभन्दा प्यारो ठाउँ हो,’ उनले उल्लेख गरेका छन्।
उनले कसैले घर कहाँ हो भनेर सोध्दा नहिचकिचाई इनरुवा भन्ने गरेको बताएका छन्। थापाको अभिव्यक्तिले इनरूवावासीको सार्वजनिक अपमान भएको उनको आरोप छ।
पोखरेलले इनरुवाको बसोबास, व्यापार, शिक्षा, स्वास्थ्य तथा सरकारी संरचनाको जग बसाल्न योगदान दिने अग्रजहरूको स्मरण गर्दै उक्त अभिव्यक्ति अनुचित भएको टिप्पणी गरेका छन्। उनले थापाको योग्यता र अभिव्यक्तिको स्तरमाथि समेत प्रश्न उठाएका छन्।
‘सांसद भनेको ऐन, कानुन र नीति बनाउने जिम्मेवारीको पद हो, सब्जी मण्डी र ढलनाला बनाउने मात्र होइन,’ पोखरेलले टिप्पणी गरेका छन्।
यसअघि इटहरीमा आयोजित ककस कार्यक्रममा रास्वपाबाटै सुनसरी ३ मा उम्मेदवार बनेका अशोक चौधरीले रास्वपालाई मत नदिने मान्छे ‘देशविरोधी’ हो भनेर टिप्पणी गरेका थिए।
चौधरीले रास्वपाले यस निर्वाचनमा दुईतिहाइ बहुमतको माग गरेको दाबी गर्दै भनेका थिए, ‘रास्वपाले यो चुनावमा दुईतिहाई मागिरहेको छ । यदि तपाईँले परिवर्तन आवश्यक ठान्नुभएको छ भने दुईतिहाई पुर्याउन तपाईँ पनि लाग्नुहोस्। यदि तपाईँ लाग्नुहुन्न भने, एक वा एकभन्दा बढी अस्थिर सरकार चाहिराख्नुभएको छ भने तपाईँ देशविरोधी हो।’
चौधरीको विवदास्पद अभिव्यक्तिपछि मंगलवार थापाले पनि विवादास्पद अभिव्यक्ति दिएका हुन्।



