इनरुवा । सुनसरी क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपककुमार साह फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् । उनले ४२ हजार ७ सय ७१ मत प्राप्त गर्दै प्रतिनिधिसभा प्रवेश गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी पूर्वमन्त्री एवं कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई २६ हजार १ सय ८४ मतान्तरले पराजित गरेका छन् । कार्कीले १६ हजार ५ सय ८७ मत प्राप्त गरेका छन् । यो फराकिलो मतान्तर केवल व्यक्तिगत विजय होइन, स्थानीय राजनीतिक सन्दर्भमा नयाँ परिवर्तनको संकेत पनि हो ।
कांग्रेसको गढ मानिने यस क्षेत्रमा साहले पुराना राजनीतिक ढाँचालाई चुनौती दिएर नयाँ दृष्टिकोण प्रस्तुत गरेका छन् । ज्ञानेन्द्रबहादुर कार्की यस क्षेत्रका पुराना कांग्रेस नेता हुन् । उनी पटक–पटक मन्त्री बनिसकेका छन् । उनी लामो समयसम्म यस क्षेत्रको राजनीतिक स्थायित्वमा प्रभावशाली मानिने नेता हुन् । त्यसैगरी, जगदीशप्रसाद कुसियैत एमालेका पूर्वमन्त्री हुन् र यस क्षेत्रमा ठूलो प्रभाव राख्ने नेताका रूपमा परिचित थिए । तर, फागुन २४ को नतिजाले देखायो कि मतदाताले अब परम्परागत अनुभव भन्दा नवीन सोच र कार्यक्षमतालाई प्राथमिकता दिइरहेका छन् । साहको विजयले मतदातालाई संकेत दिएको छ कि मतदाताले अब परम्परागत राजनीतिक प्रभाव र अनुभवभन्दा नयाँ नेतृत्व, प्राविधिक दक्षता र परिणाममुखी योजनालाई प्राथमिकता दिइरहेका छन् ।


