सुनसरी, । सुनसरीको हरिनगर गाउँपालिका–५ बसन्तपुर अन्तर्गत सिसुवा टोल पुग्ने सडक जीर्ण अवस्थामै रहेपछि स्थानीय बासिन्दाहरू गम्भीर समस्यामा परेका छन्। बसन्तपुर सुक्सेना–घुस्की जाने मुख्य बाटोबाट हाले बन्दाइ गरिएको मार्ग हुँदै हनुमान मन्दिरतर्फ आई सुनसरी खोलामा रहेको पुल पार गरेर सिसुवा टोल पुग्ने सडक हाल अत्यन्तै खराब अवस्थामा रहेको स्थानीयहरूले बताएका छन्।
उक्त सडक मर्मत तथा स्तरोन्नति नभएका कारण विशेषगरी वर्षायाममा मोटरसाइकलसमेत चलाउन नसकिने अवस्था रहेको छ। सडकको अवस्था खराब हुँदा बिरामी पर्दा एम्बुलेन्स पुग्न नसक्ने, आगलागी जस्ता घटनामा दमकल पुग्न कठिन हुने तथा सुरक्षा सम्बन्धी घटनामा प्रहरीको गाडीसमेत आउन नसक्ने जोखिम बढेको स्थानीयको गुनासो छ। धेरै अवस्थामा बिरामीलाई उपचारका लागि खाटमा बोकेर लैजानुपर्ने बाध्यता रहेको उनीहरूले बताएका छन्।
त्यसैगरी, नेपालतर्फ उचित सडक नहुँदा स्थानीयहरूलाई आफ्नै देशभित्र आवतजावत गर्नसमेत भारततर्फको बाटो प्रयोग गर्नुपर्ने अवस्था रहेको बताइएको छ। यसले गर्दा विभिन्न असहज परिस्थितिहरू भोग्नुपरेको स्थानीय बासिन्दाहरूले बताएका छन्।
यस अवस्थालाई मध्यनजर गर्दै बसन्तपुर सिसुवा टोलका बासिन्दाहरूले बसन्तपुर सुक्सेना–घुस्की मार्गबाट हनुमान मन्दिर हुँदै सुनसरी खोलाको पुल पार गरेर सिसुवा टोलसम्म पुग्ने सडकलाई तत्काल मर्मत गरी एम्बुलेन्स, दमकल तथा प्रहरी गाडी आउन सक्ने अवस्थामा स्तरोन्नति गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
साथै, आगामी असार महिनामा ल्याइने बजेट तथा योजनामा उक्त सडकलाई प्राथमिकताका साथ समावेश गर्न पनि स्थानीयहरूले आग्रह गरेका छन्। समस्या समाधानका लागि जनप्रतिनिधि, प्रशासन तथा सञ्चारकर्मीहरूलाई यस विषयमा ध्यानाकर्षण गराइदिन स्थानीय बासिन्दाहरूले अनुरोध गरेका छन्।



