बागमतीको किनारमा मेरो पञ्चभौतिक शरीर पाँचै तत्वमा विलीन हुँदै खरानी बनिरहेको थियो । त्यसबेला बिहानी हुँदै थियो । यमदूतहरु आएर मेरो भौतिक शरीर लिएर गए । यमराजको दरबारमा पुग्दा त्यहाँ चिसो हावा वहिरहेको थियो । विविध फूलका सुगन्धले त्यो स्थान स्वर्ग नै हो भन्ने लागिरहेको थियो । वातावरण निकै शान्त र स्निग्ध थियो
आफ्ना स्थानबाट भर्खरै निस्केर चराहरुले मधुर स्वरमा गाएको गीत कानमा गुञ्जिरहेका थिए । प्रकृति समुद्रजस्तै शान्त थियो । हरियाली थियो । आकाशबाट पानीका ससाना बुँद तप्किरहेका थिए । सप्तरंगी इन्द्रेणीका धनुहरु यताउति दृश्यमान थियो ।
यस्तो शान्त वातावरण देखेपछि मनमा एकाएक यस्तो भाव जागृत भयो ‘यमराज । किन मलाई यति ढिलो यहाँ ल्यायौ ? त्यो कोलाहलमय जिन्दगीबाट किन धेरै अघि ल्याएनौ ?’ यमराजलाई निकै बेर सम्झेँ । तर के गर्नु ? मृत्युदेव यमराजको पनि विवशता होला । उनले पनि त चाहेर कहाँ हुन्छ र ? भावीको लेखन । यस्तै गमेर चित्त बुझाएँ
म पुगेपछि सर्वप्रथम मेरो पहिलो भेट महामानव वीपीसँग भयो । झण्डै चार दशक अघि हराएका वीपीसँग मेरो जम्काभेट भयो । वीपी मलाई लिन ढोकासम्म नै आउनुभएको थियो । मलाई विश्वास लागिरहेको थिएन, ती महामानव म जस्तो अकिञ्चनलाई लिन किन आउनुभयो भनेर ।
मृत्युशैय्यामा धेरै दिन छटपटाएकोले मेरो मृत्यु अपेक्षित भएको कारण होला, वीपीले मलाई पुष्पगुच्छा दिनुभयो । म लिउँ कि नलिउँ जस्तो दोधारमा थिएँ र भनेँ, ‘मैले पो हजुरलाई दिनुपर्ने हो त । यो तुच्छ प्राणीलाई किन यत्रो सम्मान ?’
अनि वीपीले भन्नुभयो ‘होइन होइन, यो तुच्छ वा महानको कुरा होइन । यो त परम्परा हो । हाम्रो संस्कृति हो । पहिला आउनेले पछि आउनेलाई स्वागत गर्ने । यी सबैलाई मैले नै स्वागत गरेर आफूसँगै राखेको छु ।’
अनि मैले उहाँले दिनुभएको फूल हातमा लिएँ । मेरो हात समाएर वीपीले भन्नुभयो, ‘यो स्वर्गलोकमा तिमीलाई स्वागत छ ।’ मैले धन्यवाद दिएँ । उहाँसँग परजुनीमा भेट होला भन्ने मैले कल्पना गरेको थिइन । तर भयो । विधिको लेखन । हात समाएर मलाई अर्को हलमा लैजानुभयो ।
त्यो हलमा पुग्दा म आश्चर्यमा पो परेँ । त्यहाँ मैले तन्नेरी वयमा देखेका अनुहार एकएक गर्दै देखा परे । त्यहाँ देखेँ, लौरी बोकेका लौह पुरुष गणेशमान, एउटा छाता र सुराहीबाट पानी सारेर खाँदै गरेका किसुनजी । अनि लहरै देखेँ महेन्द्रनारायण निधि, बलबहादुर राई, भीमबहादुर तामाङ, शैलजा आचार्य, जगन्नाथ आचार्य, गिरिजा र सुशील कोइराला । अनि अर्को नजिकै जोडिएको कोठामा हुनुहुन्थ्यो मनमोहन अधिकारी, पुष्पलाल, मदन भण्डारी, जीवराज आश्रित र भरतमोहन अधिकारी ।
मैले मनमनै भनेँ ‘ओहो, मैले यी महान् पुरुषलाई भेट्न पाएँ, ज्यादै खुसी लाग्यो । मन प्रफुल्लित र पुष्पित भयो । मेरो मन अतीततिर गयो । कस्ता कस्ता महान् प्रजातान्त्रिक नेताहरुले सिञ्चित मेरो देश अहिले कस्तो विद्रूप हालतमा छ, कस्तो गए गुज्रेको छ । के भएको होला ? कसरी यस्तो भयो ? किन भयो होला ? के एउटा कुशल नेताको अभाव हो ?
मलाई देखेपछि अर्को कोठाका पाँचै भाइ पनि आए । मैले सबै परिचित अनुहारलाई एक एक गर्दै अभिवादन गरेँ । मलाई पालैपालो सबैले अंकमाल गरे । सबैभन्दा पहिले आउनुभयो, महेन्द्रनारायण निधि । उहाँले मलाई बिर्सनु भएको रहेछ । वीपीसँग सोध्नुभयो । वीपीले हाँस्दै भन्नुभयो, ‘यिनी प्रदीप गिरि हुन् । मैले रोपेको प्रजातान्त्रिक समाजवादको विरुवालाई मलजल गर्ने, व्याख्या गर्ने, चिन्तन गर्ने, आफ्ना लेखनमार्फत् जनचेतना जागृत गर्ने एक्ला वृहस्पति हुन् । यिनी मेरो सच्चा अनुयायी हुन् । यिनी किसुनजी जस्तै सदाचारी नेता हुन् । यिनका विशेष गुण र चरित्र छन्, जुन चरित्र हालका कुनै पनि नेतामा छैन । न त मेरा छोरामा नै त्यो चरित्र र गुण छ, न त गणेशमान र निधि पुत्रमा नै । अब यिनी पनि हाम्रै अल्मुनाइमा रहनेछन् ।
महामानवको यस्तो कुरा सुनेपछि मेरा हात पाउ आकाशमा उड्न थाले । स्वर्गमा मेरा खुट्टा रहेनन् । निधिले सम्झेजस्तो गरी भन्नुभयो ‘हो त, मेरो स्मरणशक्ति क्षय भएको छ । तिमीलाई यो विद्वत सभामा स्वागत छ,’ भन्दै मलाई अभिवादन गर्नुभयो । मैले स्वीकार गरेँ ।
त्यसपछि मलाई किसुनजी, गणेशमान, गिरिजा र सुशील कोइराला आएर आलिंगनमा बाँध्नुभयो । म निकैबेर उहाँहरुको आलिंगनमा रहें । मलाई न्यानो माया र आतिथ्यता पाएजस्तै भयो । किसुनजी र गणेशमानले गहभरि आँसु झार्दै भन्नुभयो, ‘तिमीलाई यो नगरीमा स्वागत छ,’ म प्रफुल्ल भएँ । मैले उहाँहरु दुवैसँग पार्टीको वैचारिक धारबाट निष्काशनमा परेको र आफू त्यसबखत असहाय बनेकोमा व्यक्तिगत तवरले माफी पनि मागेँ ।
मलाई गिरिजासँग बाँधिन मन थिएन । तर लोकाचारका लागि भए पनि बाँधिए र ममाथि उनले सन् १९७६ मा जे गरेका थिए, त्यसमा त मैले क्षमा दिइसकेको थिएँ । तर एक चौथाइ शताव्दी अगाडि उनले दुइ तिहाइ सरकारको आत्मप्रवञ्चनामा जे कर्तुत गरेका थिए, त्यतातिर मेरो मन गयो । तर पनि उनीप्रति घृणा सदा थियो र यसपटक पनि भयो । लाग्यो, त्यसो नभएको भए वीपीले सोचेजस्तो देशले कायापलट गर्दथ्यो कि ? वा किसुनजीले भनेजस्तो सिंगापुर हुन्थ्यो कि ? वा अरुण तेस्रो बनेको भए देशले पक्कै काँचुली फेर्दथ्यो कि जस्तो पनि लाग्यो ।
मेलै अतीततिरको यात्रा गर्दागर्दै सुशील कोइराला, बलबहादुर राई, शेख इद्रिस, भीमबहादुर तामाङ, शैलजा आचार्य र जगन्नाथ आचार्य मेरो छेउमै आएर मलाई झस्काए । म झसंग भएँ । यी सबै मेरा आदर्श पुरुष थिए । शैलजा मेरी आदर्श नारी थिइन् । देशको भ्रष्टाचारको जालो देख्ने र खेद्ने यी त्रिनेत्रधारी दुर्गा थिइन् । यी यस्ता नेताको सद्चरित्रता र सद्विचारले म पनि काँग्रेस भएर बसिरहेको थिएँ । यिनीहरुको अवसानसँगै काँग्रेसको अस्तित्व पनि मेटिँदै गएको आभास भइरहेको थियो । उनीहरु सबैले मलाई फूल र अविरले सिञ्चन गरे । मलाई बाल्यकालमा तराईमा होली खेलेको सम्झना ताजा भएर आयो ।
त्यसपछि भूआसनमा बसिरहेका मदन भण्डारी, पुष्पलाल, मनमोहन, जीवराज आश्रित र भरतमोहन अधिकारी फूलको सट्टा मुड्की उठाउँदै आउनुभयो र मलाई अभिवादन गिरिजी भन्नुभयो । क्षमकुशल सोध्नुभयो । मैले पनि मन्द मुस्कान छरेँ र अभिवादन स्वीकार गरेँ ।
सबैजना समान तरहले आआफ्नो भूआसनमा बसेपछि युगनायक, द्रष्टा वीपी उठ्नुभयो र मेरो चिनारी दिँदै भन्नुभयो ‘आदरणीय समुदाय, जय नेपाल । तपाईंहरुले चिन्नुभएकै छ, गिरि मेरो विचारका संवाहक हुन् । उनी मैले रोेजेको, मैले खाजेको र मैले चाहेको प्रजातान्त्रिक समाजवादको चिन्तनलाई सदैव बोकी हिँड्ने व्यक्ति हुन् । मलाई लाग्छ, नेपालमा अब व्यवहारिक रुपले त्यो सिद्धान्तलाई वा त्यो विचारलाई बोक्ने कोही व्यक्ति छैन । यसमा मलाई निकै दुःख लागेको छ । कहिलेकाँही त लाग्छ, मैले रोपेको त्यो महान् वृक्ष पालुवा नलाग्दै रुखबाट आफ्सेआफ उब्जिएका कीरा र जंगली कीराहरुका कारण मर्छ । अब म ढिला नगरी उहाँलाई त्यो देश र सरकारका बारेमा दुइ शब्द व्यक्त गरिदिन हार्दिक अनुरोध गर्दछु ।’
अनि म जुरुक्क उठेँ र भनेँ–
‘श्रद्धेय नेतागण
मलाई यहाँ स्वागत गरेको देखी म पुलकित छु । मलाई थकथकी लागिरहेछ, म किन पहिले नै यो विद्वत सभामा आउन सकिन ।
मैले भन्नैपर्छ देश वर्वादीतिर गइरहेछ । मैले लाख कोशिस गरेँ, कसैले सुनेन । म एक्लो वृहस्पतिका रुपमा रहेँ । नेताहरु छिनाझपटीमा लागिरहेछन् । भष्टाचार र सरकार एक अर्काका परिपूरक भएका छन् । चोर, फटाहा र ठगहरु फेरि पनि सत्ता हत्याउने दाउमा छन् । सरकार र देश आफ्ना छोराछोरीको वपौती ठानेर उनीहरुलाई नै अगाडि सारिरहेका छन् । आफन्त, नातागोता, ज्वाइँ, छोरी, भान्जाभान्जीलाई सत्ताको साँचो दिएका छन् ।
बृद्धभत्ता खाने उमेरका नेताहरु आफू आफू बाँडीचुँडी देशलाई जर्जर बनाइरहेका छन् । आगामी चुनावमा ठगबन्धनीय एकता गरेर सत्ताको साँचो आफै लिने दाउमा छन् । कुनै दिन देश श्रीलंकाको बाटोमा गयो भने आश्चर्य नमान्दा हुन्छ । युवालाई खाडीमा धकेलिरहेछन् र आपूm उनीहरुकै रेमिट्यान्सले सरकारी ढुकुटीमा रजाइँ गरिरहेका छन् । उद्योगधन्दा बन्द छ र जनताका दुःखका पहाड सगरमाथा उछिनेर केचनाकलनतिर झरिसकेका छन् । अब हामीले केही गर्नैपर्छ र एउटा सबल नेतालाई त्यो देशको साँचो दिन अबेला भइसकेको छ ।
अरु धेरै कुरा छन् भन्नुपर्ने तर भनिन । म थकित छु । अहिलेलाई यत्ति । पछि बात मारौँला ।
श्रोत ः रातोपाटी डट कम