सुनसरी । सुनसरी र उदयपुरको सीमामा पर्ने कोसी पुलमा सवारी साधन छाडेर एक चिकित्सक बेपत्ता भएका छन् ।
मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जेनेरल सर्जन झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीय डा. प्रज्ज्वल कोइराला बेपत्ता भएको प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार छाडी चिकित्सक बेपत्ता भएका हुन् ।
बेपत्ता भएका चिकित्सकको कोसी नदी र आसपासका क्षेत्र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासीले बेवारिसे कार देखेपछि आज (सोमबार) बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए । डाक्टर कोइराला राति २ बजे कोसीको पुलमा आएको सीसी टिभी फुजेटमा देखिएको प्रहरीले जनाएको छ ।
बेपत्ता कोइरालाको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोरको टोली र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।